संसदीय समितिमा जब जंगिए माधव नेपाल…

डिसी नेपाल
१० साउन २०७८ १७:११
880
Shares

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको आन्तरिक किचलोको प्रभाव सबै राजनीतिक घटनाक्रममा पर्ने गरेको छ। एमालेकै विवादका कारण ओली सरकार विस्थापित भएर कााग्रेस सभापति शेरबहादुर देउवा सत्तामा पुगेका छन्।

आफ्नो पार्टीको आन्तरिक किचालोलाई कारण देखाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन पनि गरे। तर सर्वोच्चले ओली सरकारको सो निर्णयलाई अवैध ठहर गर्दै विघटन बदर गरिदियो।

संसद पुनःस्थापित भइसकेको छ, ओली बालुवाटारबाट बालकोट पुगिसकेका छन्। देउवाले सत्ता सम्हालिसकेका छन्। तर, एमालेको आन्तरिक विवाद मत्थरभन्दा झन चर्किरहेको छ। एमालेको यो आन्तरिक किचलोको कारण आइतबार संसदीय समितिमा पनि असंसदीय घटना हुन पुगेको छ।

आइतबार प्रतिनिधिसाको अन्तर्राष्ट्रिय सम्बनध समितिको बैठक बस्यो। सो समितिका सदस्य एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा प्रतिगमन पराजित भएको र संसद पुनःस्थापित भएको भन्दै खुशी साट्नुपर्ने भन्दै सबैलाई बधाई दिए। उनले संसद विघटन गर्ने ओली सरकारलाई प्रतिगमनकारी भनेका थिए।

वरिष्ठ नेता नेपालको भनाइ सकिएपछि एमालेकै अर्का सांसद नारदमुनी रानाको बोल्ने पालो आयो। उनी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विस्तार गरेको मन्त्रिपरिषदमा वनमन्त्री बनेका थिए। तर, सर्वोच्चले सो मन्त्रिपरिषद विस्तारलाई अवैध ठहर गरेपछि उनले दुई हप्तामै मन्त्रिपद गुमाउनु परेको थियो।

उनी त्यसैले सर्वोच्चसँग रिसाएका रहेछन् भन्ने आइतबार उनको प्रस्तुतिले देखायो। उनले एमालेकै वरिष्ठ नेताहरुका कारण संसद विघटन गर्नुपरेको र त्यसको जिम्मेवारी वरिष्ठ नेताहरुले लिनुपर्नेमात्र बताएनन्, यो संसद र सरकार जनताले नभई सर्वोच्चले बनाइदिएको भन्न पनि भ्याए। उनले आफ्नै पार्टीका अध्यक्षले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेताहरु कहाँ गएर सुते भन्दै प्रश्नसमेत गरे। उनले वरिष्ठ नेता नेपालतर्फ हेर्दै यो सबैको जिम्मेवारी वरिष्ठ नेताहरुले लिनुपर्ने बताए।

यति भएपछि वरिष्ठ नेता नेपाल जंगिए। प्रतिगमनकारी भन्दै रानालाई बैठक छाडेर जान भने। सँगै एमाले सांसद दीपकप्रकाश भट्ट पनि जंगिए। उनले समितिमै बोलाउन नहुने सांसद किन आएको भन्दै प्रश्न गरे। उनले पनि रानालाई प्रतिगमनकारी भन्दै बैठक छाड्न भने।

यति हुँदा रानाले आफूलाई किन बैठकमा बोलाइएको हो भन्दै प्रश्न गरिरहे। समितिका सांसदहरु मन्त्री भएमा उनीहरुले समिति छाड्नुपर्ने व्यवस्था छ। र मन्त्रीबाट हटेपछि सभामुखले उनीहरुको समिति तोक्नुपर्ने व्यवस्था छ। तर, रानाको समिति नतोकिएकाले उनलाई बैठकमा बोलाएको मै विरोधसमेत भयो।

यति हुँदा काँग्रेस सांसद दिव्य राजभण्डारी पनि कड्किए। उनले यो संसद र सरकार जनताले चुनेको भन्दै सर्वोच्चले त ओली सरकारको अवैध काम सच्याएकोमात्र बताए। यसपछि रानासँगै रहेकी एमाले सांसद सरला यादवसमेत रानासँग बम्किइन्।

बैठकमा असंसदीय ढंगबाट भनाभन भएपछि समितिकी सभापति पवित्रा निरौला खरेलले आफ्नो पार्टीको झगडा बाहिर गएर गर्न समितिमा पार्टीको आन्तरिक झगडाको विषयमा नबोल्न रुलिंग गरिन्। र बैठकलाई थामथुम पारिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.