कांग्रेस महाधिवेशन : २१ जिल्लामा तत्काल वडा अधिवेशन तत्काल नहुने
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले ५६ जिल्लामा वडा अधिवेशन धमाधम भइरहेको छ। धेरै जिल्लामा वडा अधिवेशन सर्वसम्मत भएका छन् । केहीमा भने निर्वाचनमार्फत वडा कमिटी चुनिएका छन्।
७७ जिल्लामध्ये २१ जिल्लामा भने कांग्रेसको वडा अधिवेशन तत्काल नहुने भएको छ। नेपाली कांग्रेसले २३ भदौभित्र वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि निर्वाचित छान्ने र २७ भदौमा पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, २१ जिल्लामा क्रियाशील विवाद टुंग्याउन बाँकी रहेकाले ती जिल्लामा वडा र पालिका अधिवेशन दुवै प्रभावित बन्ने भएको हो।
विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल, सुनिलबहादुर थापा राप्रपा र अखण्ड नेपाल पार्टीबाट आएकाहरूको क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन नहुने निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।
‘लोकतान्त्रिक फोरम अहिले पहिले पठाएको नाम र अहिले क्रियाशील सदस्यता नवीकरण गर्दा पठाएका नामको छानबिन हुँदैछ। जसले गर्दा विवाद टुंगो लगाउन केही समय लाग्ने भएकाले २३ भदौभित्र २१ जिल्लामा वडा अधिवेशन सम्भव छैन,’ यादवले भने।
खासगरी प्रदेश १ र २ मा क्रियाशील विवाद टुंगिन बाँकी भएको उनले बताए। ‘आजै विवाद टुंग्याए पनि निर्वाचन अधिकृत तोक्न र जिल्ला जिल्ला पठाउन, चुनावी सामग्री छपाइ गर्न पनि सम्भव छैन, त्यसैले २१ जिल्लामा २७ भदौमा हुने पालिका अधिवेशनसमेत हुने सम्भावना छैन,’ यादवले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment