पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणमा पूर्वविद्यार्थी नेताहरूको भूमिका महत्त्वपूर्ण: नविना लामा
काठमाडौं। नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रूपान्तरण र सुदृढीकरणमा विद्यार्थी राजनीतिबाट आएका युवा नेताहरूको भूमिका निर्णायक हुने बताएकी छन्।
‘पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका’ विषयक कार्यक्रममा बोल्दै नेतृ लामाले नेपालमाथि वैदेशिक चासो र हस्तक्षेप बढ्दै गएको दाबी गरिन्। पूर्व र पश्चिमका वैदेशिक शक्तिहरूले नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा खेलिरहेको नेतृत्वदायी भूमिकालाई नरचाएको उल्लेख गर्दै उनले ती चुनौतीहरूलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।
“देशप्रति वैदेशिक शक्तिहरूको चासो बढेको छ। एमालेले कम्युनिस्ट आन्दोलनको अगुवाइ गरेको कुरा बाह्य शक्तिहरूलाई मन परिरहेको छैन। त्यसैले यो स्थितिलाई हामीले चिर्नुपर्ने आवश्यकता छ,” लामाले भनिन्, “एमालेले अघि सारेका विकास, समृद्धि र राष्ट्रियताका एजेन्डा मजबुत छन्। तर एजेन्डा राम्रा हुँदाहुँदै पनि कार्यदिशा र नेतृत्वमा केही कमीकमजोरी औँल्याइएका छन्। त्यसैले समयअनुसार जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादलाई परिमार्जन गर्दै युवाहरूले नेतृत्व लिनुपर्छ। यसको सुरुवात अनेरास्ववियुका पूर्वअध्यक्षहरूबाटै हुनुपर्छ।”
कार्यक्रममा उनले पार्टीको नीति, कार्यदिशा कार्यान्वयन र नेतृत्व शैलीमा देखिएका कमजोरीबारे गम्भीर आत्मसमीक्षा हुनुपर्ने धारणा राखिन्।
पार्टीभित्र बढ्दो गुटबन्दी र पहुँचका आधारमा अवसर बाँड्ने प्रवृत्तिका कारण योगदान पुर्याएका कार्यकर्तामा निराशा छाएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। अवसर नपाएकै कारण धेरै युवाहरू पार्टीबाट टाढिन र विदेशिन बाध्य भएको उल्लेख गर्दै लामाले एमालेलाई साँचो अर्थमा लोकतान्त्रिक, समावेशी र आमजनताको भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न आन्तरिक सुधार अपरिहार्य रहेको बताइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment