कुशे औंसीमै पिताको मुख हेर्नुको शास्त्रीय कारण के हो ? यसाे भन्छन् विज्ञ

सम्भव सिंह ठकुरी
२२ भदौ २०७८ १३:४८

काठमाडौं। भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन्। यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
त्यसैले हाम्रो सनातन हिन्दु परम्परामा अनुसार आज एक महत्वपूर्ण दिन हो। कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन। आजको दिन नै बुवाको मुख हेर्नेलाई किन विशेष भयो ?

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।

अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन्। धर्मशास्त्री प्रध्यापक डा.देवमणि भट्टराइले भने, ‘बैशाख कृष्ण औंसी मातृसम्मान दिवस र भाद्र कृष्ण औंसी पितृसम्मान दिवस हो । यो दुवै तिथि भनेको एउटा उदाहणमात्र हो। कुशे औंसीको दिनमात्र हैन मातापिता र गुरु हरेक दिन पुज्य र आदरणीय हुन्छन्।’

उनले अगाडि भने, ‘यो दिनले के संकेत गर्छ भने हामी आफ्नो माता पिताप्रति सधैं भरी उपकृत छौँ। जव माता पिता जीवित रहनुहुन्छ, उहाँहरुले भनेको मान्ने शास्त्रीय कुराहरुको अनुसरण गर्ने हो। जब पितामाताको स्वर्गवास हुन्छ, त्यसपछि श्राद्ध गराउने ब्राम्हण भोजन गराउने हो। त्यसैले यो दिनमात्र हैन सधैंभरी आमाबुवा प्रती कृतज्ञ हुनुपर्छ भन्ने एउटा सन्देश हो।’

शास्त्रीय विधिअनुसार आजको दिन ब्राह्मणद्वारा पूजा गरी उखेलेर पुरोहित, पण्डित कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।

हिन्दु धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *