नेकपाको अपानी-३ जारी: ४९ विभाग र मोर्चाले पाए नेतृत्व, सचिवालयका नेताहरू जिम्मेवारीमा
काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिने उद्देश्यले विभिन्न ४९ वटा विभाग र मोर्चाको जिम्मेवारी बाँडफाँट गरिएको छ।
पार्टीको केन्द्रीय कार्य-संयोजन समितिले गत चैत १९ देखि वैशाख १५ गतेसम्म सञ्चालन गरेको विस्तारित बैठकको निर्णयलाई कार्यान्वयनमा लैजाँदै अन्तरपार्टी निर्देशन (अपानी)-३ मार्फत विभागका प्रमुख तथा उपप्रमुखहरूको नामावली सार्वजनिक गरेको हो।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा जारी गरिएको यस निर्देशनले पार्टीका शीर्ष नेताहरूलाई महत्वपूर्ण विभागीय जिम्मेवारी सुम्पेको छ।
नयाँ जिम्मेवारी अनुसार नारायणकाजी श्रेष्ठले अनुगमन तथा मूल्यांकन विभागको प्रमुखको भूमिका निर्वाह गर्ने भएका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध विभागको कमान प्रमेश कुमार हमाललाई सुम्पिएको छ।
त्यस्तै, वामदेव गौतमलाई उद्यमशीलता तथा उत्पादन विभागको नेतृत्व दिइएको छ भने पार्टीको वैचारिक र सञ्चार पक्षलाई प्रभावकारी बनाउन प्रचार विभागको जिम्मेवारी रेखा शर्मालाई सुम्पिएको छ। यसअघि सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज रहेकी रञ्जिता श्रेष्ठले अब कृषि तथा भूमि व्यवस्था विभागको प्रमुखका रूपमा कार्यभार सम्हाल्नेछिन्।
संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण मानिने संगठन विभागको प्रमुखमा वर्षमान पुन नियुक्त भएको छ भने कृष्णबहादुर महराले राष्ट्रिय हित सुरक्षा विभागको जिम्मेवारी प्राप्त गरेका छन्।
वैदेशिक क्षेत्रमा रहेका कार्यकर्ता र समितिलाई व्यवस्थित गर्न प्रवास प्रदेश समन्वय समितिको नेतृत्व पम्फा भुसाललाई दिइएको छ। नीतिगत अध्ययनका लागि राजेन्द्र श्रेष्ठलाई नीति अध्ययन अनुसन्धान प्रतिष्ठान र अग्नि सापकोटालाई स्थानीय तह विभागको प्रमुख बनाइएको छ।
शिक्षा र श्रम क्षेत्रको जिम्मेवारी क्रमशः गिरीराजमणि पोखरेल र गरिमा शाहले पाएका छन् भने पार्टीभित्रको वैचारिक प्रशिक्षणका लागि डा. बेदुराम भुसाललाई पार्टी स्कुल विभागको प्रमुख बनाइएको छ।
खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी भने विना मगरलाई सुम्पिएको छ। यस कार्यविभाजनले पार्टीको आगामी कार्यदिशालाई थप व्यवस्थित र गतिशील बनाउने विश्वास नेतृत्वले लिएको छ।







डिसी नेपाल







Facebook Comment