गठबन्धनका नेतासँग प्रधानमन्त्रीले मागे मन्त्रीको नाम

डिसी नेपाल
२५ भदौ २०७८ १०:५५
120
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई चाँडो पूर्णता दिन गठबन्धन दलहरुसँग मन्त्रीको नाम मागेका छन्।

शुक्रबार विहान सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता नपाउँदा जनतामा निरासा बढेको भन्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सहभागी दलहरुसँग मन्त्रीको नाम मागेका हुन्।

तर गठबन्धनमा दलहरुले भने पहिला मन्त्रालयको भागण्डा टुंग्याउनु पर्ने बताएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन्।

‘प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिनुपर्यो अब ढिला गर्नु हुँदैन, तपाईँहरु मन्त्रीको नाम दिनुस् भन्नु भयो,’ पौडेलले डिसी नेपालसँग भनिन्, ‘गठबन्धनका नेताहरुले सरकारलाई चाँडो पूर्णता दिनुपर्ने बताउनु भयो। तर पहिला मन्त्रालयको बाँडफाँड हुनुपर्छ भन्नु भयो।’

सरकार गठन भएको दुई महिना हुन लाग्दासमेत सरकारले पूर्णता नपाएको भन्दै सरकारको आलोचना भइरहेको छ। तर सत्ता गठबन्धनबीच मन्त्रालय भागवण्डामा कुरा नमिल्दा सरकारले पूर्णता पाउन सकेको छैन।

बैठकमा एमसीसीका विषयमा पनि सामान्य छलफल भएको पौडेलले जानकारी दिइन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले एमसीसी उपाध्यक्ष फतिमा सुमारसँग भएको भेटको ब्रिफिङ गरेका थिए।

उपाध्यक्ष सुमारले आज प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीसँग भेट गरेपछि एमसीसीका विषयमा साझा धारणा बनाउने विषयमा गठबन्धनको बैठकमा छलफल भएको थियो।

प्रधानमन्त्री देउवासँग एमसीसी उपाध्यक्षले भेट गरेपछि आजै साँझ फेरि गठबन्धनको बैठक बस्ने तय भएको छ। साँझ ६ बजे बस्ने बैठकले एमसीसीका विषयमा साझा धारणा बनाउने बताइएको छ।

बैठकमा गठबन्धनलाई बलियो बनाउने विषममा छलफल भएको नेतृ पौडेलले बताइन्। यसैगरी बैठकले संसद बैठकमा अध्यादेश पेश गर्ने र संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दलसँग संवाद गर्ने निर्णय गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.