कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

डिसी नेपाल
१० साउन २०८३ १०:५६

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ बिमियास्थित हुलाकी सडकखण्डमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो। घाइतेहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएकामा चिकित्सकले आइतबार बिहान १:५० बजे दुवै जनालाई मृत घोषणा गरेका थिए।

मृतक दुवै जनाको पहिचान अझै खुल्न सकेको छैन। उनीहरूको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

चालक र सहचालक प्रहरी नियन्त्रणमा

दुर्घटनापछि बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ खैरागार बस्ने २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ।

त्यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका–२ खरीगैरा बस्ने २८ वर्षीय बस चालक श्याम कुमार कामीलाई रुपन्देहीमा प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *