पशुपतिनाथको मन्दिरमा आजदेखि भक्तजनको चहलपहल

फुर्पा शेर्पा
२५ भदौ २०७८ १३:१४

काठमाडौं । पशुपतिनाथको मन्दिर आज(शुक्रबार)देखि खुल्ला गरिएसँग भक्तजनहरुको चलहपहल हुन थालेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार आज बिहान ५ः३० बजेदेखि दिउँसो १ बजेसम्म सधैंभरि भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुल्ला हुने भएको हो।

पशुपतिनाथको मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको थियो । कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो।

मन्दिर खुल्ला गरेसँगै बिहानदेखि भक्तजनको चहलपहल बढेको छ। तर, मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुले स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने हुन्छ। कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले मन्दिर प्रवेशका लागि भक्तजनले अनिवार्य मास्क लगाउनु पर्ने, भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने नियम रहेको बताएका छन्।

त्यस्तै, एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ। मन्दिर खुल्ला भएपनि भदौभरि विशेष पूजा भने नगरिने कार्यकारी निर्देशक खतिवडाले बताए। असोजको पहिलो हप्ताबाट भने विशेष पूजाका लागि खुल्ला गरिने उनले बताए।

कोरोना जोखिम कम भएपनि पूर्णरूपमा कोरोना संक्रमण नहटेकाले मन्दिर दिउँसो १ बजेसम्ममात्र खुल्ला गरिएको उनले बताए । साढे चार महिनापछि खुल्न लागेको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। वि.सं. २०७७ र ०७८ साउन एवं हरितालिका तीज जस्ता विशेष पर्वमा पशुपतिनाथ मूल मन्दिर बन्द भएको थियो।

वि.सं.२०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। वि.सं.२०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला गरिएको थियो। र, विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रीदेखि मात्र सुरु गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *