मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो: सेराङ गुम्बाका ४०० जना प्रभावित

डिसी नेपाल
१८ कार्तिक २०८३ १७:४५

गोरखा। उत्तरी गोरखाको मनास्लु पदमार्ग क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि निरन्तर ठूलो सुक्खा पहिरो खसिरहेको छ।

साकिमा डाँडाबाट सुरु भएको सुक्खा पहिरो सेराङ खोलासम्म करिब ३०० मिटरभन्दा लामो क्षेत्रमा खसेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिनुभयो। पहिरो निरन्तर झरिरहेकाले कति फराकिलो भूभाग ओगटेको छ भन्ने यकिन हुन सकेको छैन।

क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा पर्ने बुम्राङमा पहिरो खसेपछि गुम्बा जाने पैदल मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाटो बन्द हुँदा सेराङ गुम्बामा रहेका करिब ४०० जना समस्यामा परेका छन्।

गुम्बामा अध्ययनरत २०० जना लामा विद्यार्थी तथा लामा गुरु र वृद्धाश्रमका गरी थप २०० जना आश्रित छन्। बाटो थुनिएकाले उनीहरूका लागि खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन कठिन भएको वडाध्यक्ष लामाले बताए।

मङ्गलबार बिहान ११ बजेदेखि धुवाँ उडाउँदै खस्न थालेको पहिरो रातभर र आज पनि निरन्तर झरिरहेकाले आसपासका क्षेत्रमा त्रास फैलिएको छ।

गोरखाको हिमाली भेगमा पछिल्लो समय हिमपहिरो र सुक्खा पहिरो जाने क्रम बढेपछि स्थानीयबासी चिन्तित बनेका छन्। यसअघि गत असोज २५ गते पनि सेराङ हिमालकै पूर्वी पाटोमा हिमपहिरो खसेर उङ्गिलुङ खोला थुनिँदा बूढीगण्डकी नदीमा विनाशकारी बाढी आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *