डडेल्धुरामा कांग्रेस विवाद उत्कर्षमा : देउवाले अधिनायकवाद लादेको सभापति मल्लको आरोप

सम्भव सिंह ठकुरी
२५ भदौ २०७८ १३:२६

काठमाडौं। यतिबेला देशभरी कांग्रेस अधिवेशनको बाक्लो सरगर्मी छाएको छ। कांग्रेसका अधिकांक्ष नेताकार्यकर्ता आफ्नै वडा र जिल्लामा आफू अनुकूलका नेतृत्व ल्याउन कसरत गरिरहेका छन्।

अधिवेशनको चर्चा र सरगर्मी जति बाक्लिएको छ। त्यतिनै क्रियाशील विवाद कायमै छ। रोचक कुरा त के भने प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा अनावश्यक हस्तक्षेप गरेपछि विवाद उत्कर्षमा पुगेको छ।

आइतबार राति नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील सदस्यताको विवरण नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाको गृहजिल्लामा तीव्र असन्तुष्टि देखिएको छ।

जिल्ला सभापति कर्णबहादुर मल्लपक्षले देउवाले केन्द्रबाट नै विधि र प्रक्रिया नपुर्याइ जिल्लाबाट सिफारिस भएका ४६० जना क्रियाशील सदस्यको नाम काटेर देउवाले आफू अनुकुल ३१२ लाई क्रियाशील सदस्यता दिएको आरोप लगाएका छन्।

यसरी देउवाले आफू अनुकूलका नेता जिल्ला नेतृत्वमा ल्याउने प्रायोजनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरुको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरेपछि मंगलबार जिल्ला कार्यसमिति डडेल्धुराको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो।

तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको छ। तालिकाअनुसार आज बिहान ८ः ३० बजेबाट ५२ वटै वडामा अधिवेशन सुरु भएको छ।

यसरी तनावकाबीच भएको अधिवेशनमा जिल्ला सभापति मल्ल समूह भने अधिवेशनमा सहभागी भएका छैनन्। ‘म जिल्ला कार्यसमितिको वर्तमान सभापति हो।

मलाइ नै अधिवेशन गर्ने विषयको जानकारी आएको छैन, तर अधिवेशन सुरु भएको छ भन्ने सुनेको छु’, मल्लले भने, ‘यो पार्टीको आधिकारिक अधिवेशन नभएर नितान्त देउवा समूहको मात्र अधिवेशन हो,हामी सहभागी हुँदैनौँ।’

देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यको नाम हटाएर देउवापुत्र जयबिरसिंह देउवासहित १० जनाको नाम थपेर वेबसाइटमा सार्वजनिक गरिएको छ।

अन्य स्थानमा हटाइका क्रियाशील सदस्यहरुमा सभापति कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्टलगायतका छन्।

नरबहादुर पाल १२ औं र १३ औं महाधिवेशनबाट लगातार दुई कार्यकालसम्म वडा सभापति रहेर पार्टीमा काम गरेका व्यक्त हुन्। अचम्म छ भने उनले हस्ताक्षर गरेर पठाएका एक सय ५ जनाले क्रियाशील सदस्यता आयो तर उनको नाम वेबसाइटमा आएन। त्यसपछि उनी बिरोधमा उत्रिएर कपाल मुण्डन गरेको तस्वीर सामाजिक सन्जालमा निकै भाइलर भयो।

लोकतान्त्रिक दलको दावी गर्ने सभापतिको एकलौटी निर्णयले अहिले डडेल्धुरा कांग्रेसमा हंगामा मच्चिएको छ। देउवाको यो कदमप्रती आक्रोश पोख्दै मल्लले भनेका छन्, ‘सत्ता र शक्तिको प्रयोग गरेर अहिले डडेल्धुरामा प्रहरी परिचालन गरी जर्बजस्ती वडा अधिवेशन गरिएको छ, यो अलोकतान्त्रिक र निरङ्कुशवादको संकेत हो।’

सात वटा स्थानीय तह रहेको डडेल्धुरामा ५२ वटा वडाहरु रहेका छन्। सभापति देउवाले जिल्ला नेतृत्वको लागि भीमबहादुर साउदलाई अगाडि बढाएका छन्। मल्ल भने, विधानतः दुई कार्यकाल लगातार सभापति बनिसकेका व्यक्ति पुनःउम्मेदार हुन नपाउने भएकाले यो अधिवेशनमा वर्तमान उपसभापति करुणाकार भट्टलाई उम्मेदारी बनाउन चाहन्छन्।

देउवाले भीमबहादुर साउद अनुकूल क्षेत्रीय प्रतिनिधि आउने गरी सदस्य थपगट गरेपछि जिल्लामा हंगामा मच्चिएको मल्ल निकट एक नेताले बताए।

उनले भने, ‘लोकतान्त्रिक पार्टीमा कुनै एक अमुख व्यक्तिलाई जिताउने प्रयोजनले देउवाले जुन कदम चालेका छन्, यो विधि विधान विपरित छ र कांग्रेसका निष्ठावान कार्यकर्तालाई अन्याय भएको छ।’

स्थगित गर्न देउवालाई पौडेल र निधि र शेखरको आग्रह

यसरी विवाद उत्कर्षमा पुगेपछि जिल्लाको वडा अधिवेशन स्थगन गर्न माग गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले बिहीबार सभापति देउवासँग माग गरेका थिए।

उपसभापति विमलेन्द्र निधि केन्द्रीय सदस्य तथा सभापतिको आकांक्षी शेखर कोइरालाले पनि देउवालाई अधिवेशन स्थगित गर्न ध्यानाकर्षण गरेका थिए। शेखरले यो खाले प्रक्रिया लोकतान्त्रिक नभएको टिप्पणी गरेका छन्। यो खाले परिपार्टीले पार्टी कसरी चलाईंदैछ ?भन्ने प्रमाण दिन्छ।

उनले भने,यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रवाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतवाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद छ। सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र?

डडेल्धुरा बाहेक नै २० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेको छैन,रौतहटका केही जिल्ला कार्यसमितिका नेता कार्यकर्ता अझैपनि क्रियाशील सदस्यमा धाँधली भएको र समायोजनको नाममा मनपरिभएको भन्दै अझै धर्नामा छन्।

यसरी कांग्रेस अधिवेशनको मेरुदण्ड क्रियाशील सदस्यता विवाद कायमै रहेको हुँदा,अधिवेशनको प्रारम्भीक चरण वडा र स्थानीय तहको अधिवेशन हुनेमा झनै शंका बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *