इलाममा उत्पादन भएको अलैँचीको बिरुवा लमजुङ र संखुवासभा निकासी

डिसी नेपाल
२६ भदौ २०७८ १८:४१
48
Shares

इलाम । बर्षेनी अलैँचीको विरुवा उत्पादन गर्दै आएको सरकारी निकाय अलैँची विकास केन्द्रले यो वर्ष ८० हजार बिरुवा उत्पादन गरेर विक्री गरेको छ । केन्द्रले उत्पादन गरेको अलैँचीको विरुवामध्ये ४० हजार विरुवा लमजुङ, ३० हजार विरुवा संखुवासभा निकासी भएको छ । १० हजार विरुवा भने इलामकै किसानले रोपेका छन् ।

अलैँची विकास केन्द्रले यो वर्ष लक्ष्यभन्दा भन्दा बढी विरुवा उत्पादन गरेर विक्री गरेको हो । ‘यो वर्ष ५० हजार विरुवा उत्पादन गर्ने लक्ष्य थियो,ु केन्द्रका प्राविधिक सहायक दिलबहादुर श्रेष्ठले भने, ‘लक्ष्य भन्दा बढी नै विरुवा उत्पादन भयो ।’ अलैँचीको विरुवा विक्रीबाट केन्द्रले चार लाख रुपैयाँ राजश्व संकलन गरेको छ । अलैँची विकास केन्द्रले रामसाइ, गोलसाइ, डम्बरसाइ, भार्लाङ र जिर्मले जातको विरुवा उत्पादन गर्ने गरेको छ ।

अलैँचीको विरुवाको माग तीव्र भएपछि इलाममा निजी क्षेत्रले पनि अलैँचीको विरुवा उत्पादन गर्ने गरेका थिए । तर विरुवाको माग कम भएपछि निजी क्षेत्रले भने अलैँचीको नर्सरी राख्न छाडेका छन् । अलैँचीको विरुवा किन्न किसान आउन छाडेपछि निजी किसानले नर्सरी राख्न छाडेको सलकपुरका किसान कुमार तामाङ्गले बताए । ‘पहिले यहाँका किसानले फल भन्दा बढी विरुवा विक्री गरेर आम्दानी लिन्थे,ु तामाङले भने, ‘अहिले त विरुवा खोज्नै आउँदैनन् ।’ इलामबाट बिरुवा लगेका किसानले आफ्नै क्षेत्रमा बिरुवा उत्पादन गर्न थालेकाले अलैँचीको बिरुवा लिन इलाम आउनुपर्ने अवस्था नभएको उनको भनाइ छ ।

अलैँचीमा देखिएको रोगले बगानै सखाप हुँदै आएको भए पनि अलैँची खेतीको विस्तार रोकिएको छैन । हाल मुलुकको ५४ जिल्लाको १७ हजार हेक्टरमा अलैँचीको खेती भइरहेको छ । अलैँचीमा देखिने छिर्के, फुर्के, गानो कुहिने, डढुवाजस्ता रोगले किसान हैरान भएका छन् । जमिनको उचाईअनुसार त्यस क्षेत्रमा सिफारिस गरिएको विरुवा रोप्ने हो भने रोगको संक्रमण कम हुने प्राविधिक बताउँछन् । सुख्खा र ताता क्षेत्रमा जिर्मले जातको अलैँची फस्टाउने गरेको छ । लेकाली क्षेत्रमा भने रामसाई, गोलसाई जातको विरुवा फष्टाउने गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *