आफू मात्रै ठीक भन्नेले ठूला उपदेश दिइरहेका छन्ः प्रचण्ड

डिसी नेपाल
२७ भदौ २०७८ २१:०७
96
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरु सबै खराब आफू मात्रै ठीक भन्नेहरूले ठूलाठूला उपदेश दिँदै जनतालाई भ्रममा राखेको बताएका छन् । अध्यक्ष दाहालले भने, “अरु सबै खराब म ठिक भनेर उपदेश दिने धेरै भए । माक्र्सवादमा धेरै सत्य छन् तर विद्रोह जनताको अधिकार हो भन्ने कुरा मुख्य हो । नेपालको कम्युनिष्ट आन्दोलनमा भएका बलिदानका कीर्तिमानलाई सम्मान गर्न र नाम लिन डराउनेहरू अझै पनि यहाँ रहेछन् । उनीहरू नै ठूलो उपदेश दिएर बसीरहेका छन् ।”

माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले बलिदानको उच्च सम्मान गर्दै त्यसबाट अगाडि बढ्नु नै आजको प्रमुख कार्यभार भएको बताए । उनले तत्कालीन एमालेसँग एकता गर्दा आफूले देश र जनताको हितका लागि ठूलो जोखिम मोलेको र समाजवादमा जाने लक्ष्य राखेको भए पनि केपी ओलीकै कारण त्यो सम्भव नभएको बताए ।

“समाजवादमा जाने गरी नेकपा एकीकरण गरेर जोखिम उठाएकै हो, तर त्यो सम्भव भएन”, उनले भने, “ मलाई गठबन्धन बैठकमा पटकपटक ओलीसँग मिलेर के पाउनु भयो भनेर सोधिरहन्छन् । मैले ज्ञान प्राप्त गरेर आएँ भनेको छु । यो ज्ञान सजिलै प्राप्त गर्ने कुरा थिएन । ओलीसँग एकता गरेर मात्रै प्राप्त हुने थियो । प्रचण्डको यही ज्ञानले गर्दा वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो ।”

अध्यक्ष दाहालले २१औँ शताब्दीको समाजवादको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको पनि बताए । “२१औँ शताब्दीको वैज्ञानिक समाजवादको मोडल के हुन्छ भनेर खोज्नेहरू एक ठाउँमा आउन जरुरी छ”, अध्यक्ष दाहालले भने, “त्यसको प्रयास पनि भइरहेको छ । एक चरण विभाजित भएर हेरियो । त्यसरी केही पनि हुनेवाला छैन । त्यस कारण फेरि एक ठाउँमा आएर हेरम । प्रयास गरौँ ।”

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा लम्पसार पर्ने चरित्र रहेको बताए । अध्यक्ष नेपालले नेपाली कम्युनिस्ट आन्दोलनाका विकृति अन्त्य गर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास हुनुपर्ने उनको जोड थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ को दस्तावेजलाई थप विकसित गर्नुपर्ने बताए । जागरण बुक हाउसले प्रकाशन गरेको तामाङको उक्त पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनको समग्र पक्षका बारेमा व्याख्या गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.