उपत्यकामा ट्राफिक निगरानी कडा: २४ घण्टामा १ हजार २०९ सवारी चालक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन र चालकहरूमाथि प्रहरीले निगरानी कडा पारेको छ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा पछिल्लो २४ घण्टामा १ हजार २०९ वटा सवारीसाधनका चालकहरू कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहानसम्मको अवधिमा सबैभन्दा बढी तीव्र गतिमा सवारी चलाउने १४३ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी सञ्चालन गर्ने ९६ जना चालकलाई कारबाही गरिएको छ।
यस्तै नियमविपरीत राइड सेयरिङ गर्ने ५० जना, रातो बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ५१ जना र निषेधित क्षेत्रमा हर्न बजाउने ५६ जना चालक कारबाहीमा परेका छन्।
यसैगरी सवारीको यान्त्रिक अवस्था ठीक नभएका ४३ वटा सवारीसाधन, एकतर्फी (वन-वे) सडकमा सवारी चलाउने २५ जना र लेन अनुशासन उल्लंघन गर्ने २१ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
अन्य विभिन्न ट्राफिक कसुरमा ७२४ जना चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ। सडक दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित बनाउन उपत्यकामा नियमित तथा आकस्मिक चेकिङलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीले स्पष्ट पारेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment