यी हुन् एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी दलित किशोरी

डिसी नेपाल
२९ भदौ २०७८ १९:५५

काठमाण्डौं । बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एक दिनका लागि गाउँपालिका प्रमुख हुने भएकी छन्। ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम मंगलबार उनले गर्ने भएकी हुन्।

‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ नारा सार्थक बनाउन बूढीगंगा गाउँपालिकाले गरेको कार्यक्रममा १६ वर्षीया सुस्मिता ऋषिदेव गाउँपालिकाको अध्यक्ष नियुक्ति भएकी हुन्। बालबालिकाले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र नेतृत्वले कसरी काम गर्छन् भनेर उनीहरूलाई अनुभूत गराउन जिम्मेवारी दिइएको बूढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिए।

बैठकले बालबालिकालाई स्थानीय तहको निर्णय प्रक्रिया, स्थानीय शासनमा बालबालिकाको भूमिकाका विषयमा साझा बुझाइ बनाउन अभिमुखीकरण कार्यक्रम गर्न ५० हजार बजेट विनियोजन गर्ने निर्णय गरेको छ । त्यस्तै बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने र पालिकाले आगामी दिनमा निर्माण गर्ने सबै संरचना बालमैत्री बनाउने निर्णय पनि भएको छ ।

मंगलबार भएका तीनवटै निर्णयलाई औपचारिकता दिन अब बस्ने कार्यपालिका बैठकबाट अनुमोदन गराइने बरालले जानकारी दिए । ऋषिदेवले पनि गाउँपालिका अध्यक्षको रुपमा काम गर्न पाउनु गर्वको विषय भएको बताइन् । बुधबारदेखि शुरु हुने कक्षा १२ परीक्षा दिने तयारीमा रहेकी उनले भनिन्, ‘पिछडिएको वर्ग, त्यसमाथि पनि दलित समुदायको एउटी किशोरीका लागि यो एकदमै खुशीको कुरा हो ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *