प्रदेश अस्पतालमा सम्पन्नलाई पनि उपचार गर्ने वातावरण तयार गरिने

डिसी नेपाल
६ असोज २०७८ ७:१८
160
Shares

कर्णाली । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले सम्पन्न वर्ग आकर्षिक हुने गरी अस्पतालको विकास गर्ने बताएका छन्। प्रदेश अस्पताल सुर्खेतद्वारा मङ्गलबार आयोजित आर्थिक वर्ष २०७३/७४–२७७/७८ सम्म सेवाग्रहीले अन्तरङ्ग, बहिरङ्ग विभागबाट लिएका उपचार सेवा, शल्यक्रियासहितका तथ्याङ्क सार्वजनिक कार्यक्रममा निर्देशक उनले तथ्याङ्कबाट विगतमा यहाँको स्वास्थ्य अवस्था र हालको वस्तुस्थितिले देखाएको प्रगतिबारे स्पष्ट भएको बताएका हुन्।

उनका अनुसार मध्यपश्चिम क्षेत्रीय हुँदै प्रदेशमा रुपान्तरण भएको यस अस्पतालले पछिल्लो समयमा सबैखाले स्वास्थ्य सेवा विस्तार गरेको छ। “अहिले हामीले अर्थोपेडिक, पेडियाट्रिक, साइक्याट्रिक, जेरियाट्रिक, पोष्ट ओपी, न्यूरो सर्जरी, इएनटीलगायत विशेषज्ञ वार्ड सेवा सुरुआत गरेका छौँ”, निर्देशक डा खड्काले भने, “यसमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, न्यूरोलगायत विधाका कन्सल्ट्यान्ट, विशेषज्ञ, मेडिकलसहित ६० चिकित्सक कार्यरत छन्।”

प्रदेश अस्पतालका प्रवक्ता एवं हाडजोर्नी विशेषज्ञ डा विकास केसीले सेवाग्रहीको समस्यालाई मध्यनजर गरी समय बढाएर अस्पतालले ओपिडी सेवा बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म र नाम दर्ता ८ः०० देखि अपराह्न २ः०० बजेसम्म गरिने जानकारी दिए। उनले बिरामीकै हितमा आकस्मिक सेवा, सिटी स्क्यान, अल्ट्रा साउण्डलगायत सेवा प्रवाह गरिएको बताए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौँमा कार्यरत न्यूरोसर्जन सहायक प्राध्यापक डा निलम खड्काले कर्णालीको करिब २० लाख जनसङ्ख्यामा एकजना न्यूरोका चिकित्सक हुनु दुःखद् कुरा भएको बताइन्। यद्यपि यस चार महिनाको अवधिमा पनि २५ जनाको टाउको, दुईको हड्डी, एक/एक जनाको घाँटी र ढाडको शल्यक्रिया गरिएको उनको भनाइ थियो।

सामाजिक सुरक्षा शाखाका प्रमुख रामप्रसाद भण्डारीले गत आव २०७७/७८ मा कर्णाली प्रदेश अस्पतालबाट १६ हजार बिरामीले स्वास्थ्य बिमाको सेवा लिएको बताए। पछिल्लो समयमा बिमाप्रति नागरिकको आकर्षण बढेको उल्लेख गर्दै शाखा प्रमुख भण्डारीले स्वास्थ्य बिमाबाट ४० प्रतिशत नागरिक प्रदेश अस्पतालबाट लाभान्वित भएको जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.