कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा हारेपछि पूर्वसांसद राजवंशी एमाले प्रवेश

डिसी नेपाल
११ असोज २०७८ १४:३०
1.9k
Shares

झापा। नेपाली कांग्रेसका पुराना नेता हुन्, झापाका अमृतलाल राजवंशी। कांग्रेसबाट ०६४ र ०७० मा संविधानसभामा समानुपातिक सांसद बन्ने असर पाए । उनी पार्टीको १४औँ महाधिवेशमा बिर्तामोड-४ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बने।

तर, चार दशक राजनीतिक गरेको पार्टीमा नराम्रोसँग हार व्यहोरेपछि उनले एमाले रोजे। आइतबार एमाले अध्यक्ष केपी ओलीबाट टीका लगाएर उनी एमालेमप्रवेश गरेका हुन्।

महाधिवेशनमा हारेर पार्टी छाडेको भन्ने तर्क उनी भने स्वीकार गर्दैनन्। कांग्रेसमा ‘सुकिलामुकिला’ हावी भएकाले ६ वर्षदेखि पार्टी छाड्ने ‘मुड’ बनाएको उनी बताउँछन्। ‘पार्टीमा सुकिलामुकिलाको हालिमुहाली बढ्यो। हामीजस्तो पुराना नेतालाई पाखा लगाउने काम भयो,’ उनले भने, ‘तर, महाधिवेशनमा हारेकै कारण भने पार्टी छाडेको हैन । म कांग्रेसको महाधिवेशनमा उठ्दिन भन्नेमा थिएँ। तर, केही निकट साथीहरूले उठ्नुपर्छ भनेर उठेको हुँ।’

नाकाबन्दीका समयमा केपी ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान, सरकारमा हुँदा गरेको विकास, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सिके राउतलाई मूलधारमा ल्याएका कारण उनीप्रति आकर्षण बढेकाले एमाले प्रवेश गरेको बताए।

तर, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले भने राजवंशी एमालेमा प्रवेश गरे पनि कांग्रेसलाई गुनासो नरहेको बताए। राजवंशीले ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति थापालाई हराउन भूमिका खेलेको उनको आरोप छ। ‘उहाँले पार्टी छाडेकोमा हाम्रो केही गुनासो छैन । म उम्मेदवार हुँदा मलाई उहाँले हराउन भूमिका खेल्नु भएको हो,’ उनले भने, ‘सांसद भएको मान्छे वडामै हार्छ कहीँ?’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *