राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की
जनकपुर। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राज्य नागरिकको पक्षमै हुनुपर्ने धारणा राखेका छन्।
शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरभित्र युएनओपीएसद्वारा निर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले लोकतन्त्रमा राज्य नागरिकको पक्षमा हुने अवस्था रहेकोमा उल्लेख गरे।
उनले लोकतन्त्र बोलेर वा हल्ला गरेर हुने कुरा नभई नागरिकले आफ्नो कर्म, पेशा र व्यवसायीमाथि गर्व गर्नसक्ने अवस्था रहेको बताए। मजदुरले मजदुरी गरेर जीवन निर्वाह गर्दा पनि खुसी हुनसक्ने र एउटा चिकित्सकले बिरामी जाँचेर पनि सोही खुसी अनुभूती गर्ने वातावरणलाई लोकतन्त्र मानिने प्रहरी महानिरीक्षक कार्कीको भनाई छ।
उनले एकै ठाउँमा समान रुपमा हरेक पेशा, धर्म, जातजातीलाई सम्बोधन गर्न सकिने वातावरण निर्माण गर्न र सो वातावरण कायम राख्नु आम नागरिक र प्रहरीको जिम्मेवारी रहेकोमा जोड दिए।
प्रहरी महानिरीक्षक कार्कीले कानुनी शासनमा बदमासहरु डराउनुपर्ने र सज्जनहरु भयरहित वातावरणमा हिँडडुल गर्न पाउनुपर्ने वातावरण निर्माण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए। प्रहरीलाई कुनै एक पक्ष वा चिनजान अथवा कसैको दबाबमा आएर अन्यायतर्फको झुकावमा नपर्न महानिरीक्षक कार्कीले आग्रह गरे।
समाज र राष्ट्रमा सन्तुलन कायम राख्न सर्वसाधारण र प्रहरी प्रशासनलाई मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
जिल्ला प्रहरी कार्यालय धनुषामा ४ करोड ७१ लाख रुपैयाँको लगानिमा महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र प्रहरी आवास भवनका साथै सोलार लाईट जडान गरिएको छ।
प्रहरी महानिरीक्षक कार्कीले उद्घाटन गरेको भवनमा परामर्श कक्ष, पीडित कक्ष, बालबालिका कक्ष रहेको छ। यस भवनले पीडितहरुलाई ट्रान्जिट स्पटका रुपमा केही दिन बस्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
यसअघि कुनै पीडितलाई केही दिनका लागि राख्नुपर्दा जिल्ला प्रहरी कार्यालयले विभिन्न सामाजिक संस्था तथा एनजीओहरुको जिम्मा लगाउने गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment