अशक्तलाई घरमै नागरिकता, बैंक खातामै भत्ता पाउने बाटाे खुल्याे

डिसी नेपाल
१३ असोज २०७८ ८:५४

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।

शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपांग र अशक्त नागरिकलाई पहिचान गरेर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रशासनसँगको सहकार्यमा घरैमा पुगेर नागरिकताको प्रमाणपत्र पुर्‍याएको हो।

मंगलबार साकेला गाउँपालिका-४ मात्तिमका २० वर्षीय खगिन दर्जी, साकेला गाउँपालिका-३ खिदिमा बोराटोलकी २५ वर्षीय कृष्णकुमारी खत्री र साकेला गाउँपालिका-३ खिदिमाकी २५ वर्षीया रामकुमारी राईलाई नागरिकताको प्रमाणपत्र उपलव्ध गराइएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए।

गाउँपालिका अध्यक्ष अर्जुन खड्काले अपांगता भएका नागरिकलाई प्रशासनका प्रतिनिधि दिनेश आचार्यको रोहवरमा नागरिकताको प्रमाणपत्र वितरण गरेका छन्। क्रमशः अन्य अशक्तलाई घरैमा नागरिकताको प्रमाणपत्र उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले अपांग र अशक्तको नागरिकता बनाउनका लागि आवश्यक कागजात तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय पठाएको थियो। जिल्ला प्रशासन कार्यालयमा प्रकृया पुरा गरेर नागरिकता तयार भएपछि प्रशासनले आफ्नो प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नागरिकताको प्रमाणपत्र वितरणको व्यवस्था मिलाइएको हो।

नागरिता पाएसँगै उनीहरुले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि नागरिकता विहिन अशक्त र अपांग लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । नागरिकता वितरणसँगै अशक्तको सामाजिक सुरक्षाभत्ता लिने बाटो खुलेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक राईले बताए।

बुधबार साकेला गाउँपालिका-२ रतन्छाका वृद्ध नन्दलाल फुयाँल लगायतलाई प्रशासनको अनूसुचीमा सनाखत गराएर नागरिकता वितरण गर्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *