सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन गोरखाको उत्तरी भेगस्थित चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा भने २०० रुपैयाँसम्म पर्ने गरेको छ। सडक सञ्जालको पहुँच नहुँदा खच्चडबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यताका कारण स्थानीयले नुनजस्तो अत्यावश्यक वस्तु पनि चर्को मूल्यमा खरिद गर्नुपरेको छ।
नेपालमा खानेनुन आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ तोकेको छ। तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ र साम्दोजस्ता सीमावर्ती बस्तीमा एक प्याकेट आयो नुनको मूल्य २०० रुपैयाँसम्म पुग्ने गरेको छ।
स्थानीयका अनुसार गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै महँगो छ। साम्दोसम्म एक प्याकेट नुन पुर्याउन मात्रै ढुवानी भाडा १०० रुपैयाँ लाग्ने स्थानीय निमा दोर्जेले बताए। आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च जोड्दा नुनको मूल्य २०० रुपैयाँ पुग्ने उनको भनाइ छ।
सामागाउँभन्दा केही तल रहेको ल्हो गाउँमा एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ छ। खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० रुपैयाँ पर्ने भएकाले उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने गरेको स्थानीय बताउँछन्।
त्यस्तै, वडा नं. ५ बिहीमा एक प्याकेट नुनको मूल्य १०० रुपैयाँ पर्छ। पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो २५ रुपैयाँ र वर्षायाममा ७० रुपैयाँसम्म भाडा लाग्ने गरेको स्थानीय काल्देन छेवाङले बताए।
वडा नं. ४ प्रोकमा पनि नुनको मूल्य १०० देखि १७० रुपैयाँसम्म पर्ने गरेको छ। चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले भने एक प्याकेट नुनका लागि १८० देखि २०० रुपैयाँसम्म तिर्नुपर्छ। पाङसिङबाट ती बस्तीमा सामान पुर्याउन खच्चडबाट प्रतिकिलो ६० रुपैयाँ ढुवानी भाडा लाग्ने गरेको छ।
छेकम्पारका गाउँबस्तीमा एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ छ भने चुम्लिङमा १०० रुपैयाँ पर्छ। सडक र यातायातको सुविधा नहुँदा स्थानीयले दैनिक उपभोग्य वस्तु खरिदमा अतिरिक्त रकम खर्चिनुपरेको छ।
सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसको व्यवस्थापनको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ। चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाइएको कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनले जानकारी दिए।
उनका अनुसार कर्पोरेसनले सिर्दिबाससम्म प्रतिकिलो २८ रुपैयाँका दरले नुन पठाउने गरेको छ। पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउँछ।
तर, सरकारले अनुदानमा पठाएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन। अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको छेकम्पारका स्थानीय पासाङ फुन्जो लामाले बताए। सिर्दिबासबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्ने भएकाले त्यसभन्दा माथिका बस्तीमा नुन पुर्याउन स्थानीयले महँगो खच्चड ढुवानी भाडा तिर्नुपर्ने उनको भनाइ छ।
चुमनुब्री गाउँपालिकामा सडक पूर्वाधारको अभाव नै महँगीको प्रमुख कारण बनेको छ। नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोले पनि मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ। बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्ने जिम्मा सेनाले पाएको छ।
तर, बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याका कारण सडक निर्माणले गति लिन सकेको छैन। फलस्वरूप चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छ वटा वडा अझै सडक सञ्जालबाट टाढा छन्।
सडक पुगेको गाउँपालिकाको केन्द्र फिलिम र आसपासका क्षेत्रमा समेत प्रतिप्याकेट ३० रुपैयाँ पर्ने आयो नुन ६० रुपैयाँमा बिक्री हुने गरेको स्थानीय कुमारी गुरुङले बताइन्। आर्खेटबाट फिलिमसम्म खाद्यान्न ढुवानी गर्दा लाग्ने खर्चका कारण नुनको मूल्य बढ्ने गरेको उनको भनाइ छ।
मोटर पुगेको पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड नै हो। मनास्लु क्षेत्रको अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खाद्यान्न पुर्याउन तीन दिनको पैदलयात्रा गर्नुपर्ने र प्रतिकिलो १०० रुपैयाँसम्म ढुवानी भाडा लाग्ने गरेको स्थानीय व्यवसायी वीरबहादुर लामाले बताए।
सडकको पहुँच नपुग्दा चुमनुब्रीका बासिन्दाले नुनजस्तो आधारभूत आवश्यकताको वस्तुका लागि समेत बजार मूल्यभन्दा कैयौँ गुणा बढी रकम तिर्नुपर्ने बाध्यता भोगिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment