अन्नपूर्ण पदमार्गमा भारतीय पर्यटकको आकर्षण, अक्टोबरसम्म साढे ३० हजार विदेशी मनाङ पुगे
मनाङ। अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले मनाङको भ्रमण गरे।
अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेको जानकारी दिए। उनका अनुसार १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र १० अन्य पर्यटकले मनाङ भ्रमण गरे।
आयोजनाका अनुसार भारतीय पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनीका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ पर्यटकले मनाङको भ्रमण गरे। “अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन्,” भुजेलले भने, “सार्क राष्ट्रका पाँच हजार ९० र अन्य देशका २५ हजार ५७२ पर्यटक यहाँको सुन्दरता अवलोकन गर्न आए।”
अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको अवस्थामा पनि उल्लेख्य पर्यटक आएको उनले बताए। जोखिमको अवस्थामा पनि पर्यटक मनाङको सौन्दर्य तथा प्राकृतिक र सांस्कृतिक क्षेत्रको भ्रमणमा आएको तथा जोखिम कम भएपछि गन्तव्यतर्फ लागिसकेको भुजेलले जनाए।
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल र मनास्लु हिमाल आरोहण गर्न पर्यटक आउने गर्छन्।
हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्छ। साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्छन्।
पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्रा सुरुआत हुन्छ। अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन्। काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा आउने पर्यटक पछिल्लो समय चामे र खाङ्सारसम्मै सवारीसाधनमा पुग्ने गरेको पाइन्छ। त्यसपछि मात्र उनीहरूले पदयात्रा सुरुआत गर्छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment