प्रकोप बन्दै शापु रोग, बालबालिका उच्च जोखिममा

डिसी नेपाल
१६ असोज २०७८ ६:३३
128
Shares

काठमाडौं । दृष्टिनाशक रोग शापु नेपालको मध्य पहाडी भेगमा महामारीको रूपमा देखिएको छ। प्राय वर्षायाममा भदौदेखि मंसिरसम्म यो रोगको संक्रमण हुने गरेको छ।

मध्य पहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ। धेरैजसो बच्चाहरू यस रोगबाट ग्रसित हुने गरेका छन्। शापु अन्य उमेर समूहका मानिसमा पनि देखिने गरेको छ।

नेपालमा मात्र हुने यो रोग बच्चाका लागि निकै खतरनाक मानिन्छ। यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ।

यो रोग लागेपछि आँखाभित्रका तीनवटै पत्रलाई असर गर्छ। आँखाको ज्योति नै गुम्ने खालको जटिल प्रकृतिको रोग भएकाले यसले नेपालमा समस्याको रूपमा लिइरहेको छ।

सेतो पुतली (मोथ)लाई शापु रोगको कारक मानिएको छ। तर, कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने गरेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।

नेपालमा वि. सं. २०३२ मा देखिएको यो रोग बालबालिकामा बढी मात्रामा देखिने गरेको छ। यो रोग लागेपछि आँखाको ज्योति पुरानो अवस्थामा फर्काउन निकै कठिन हुने नेत्ररोग विशेषज्ञहरूको भनाई छ। बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दखल पुर्‍याउने स्थिति छ। यो रोग हरेक वर्ष बिराएर प्रकोपको समस्याका रूपमा देखिएको छ।

शापु रोगका लक्षणहरू

– एक्कासी एउटा आँखा रातो हुनु

– चिप्रा लाग्नु

– उज्यालोमा हेर्न नसक्नु

– आँखाको दृष्टिमा तत्कालै कमी हुनु

– आँखा दुख्नु

– उपचारमा ढिलो भएमा आँखाको नानी सेतो देखिनु

शापु रोगको रोकथाम

– सेतो पुतलीको संसर्गबाट टाढै रहने

– धेरै उज्यालो बत्ती नबाल्ने

– साँझ र राती झ्याल ढोका बन्द राख्ने

– झ्याल ढोकामा जाली हाल्ने

– सुत्दा बत्ती निभाएर र झुल लगाएर सुत्ने

– आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्ने


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *