डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग नेपाल चिकित्सक संघको माग

डिसी नेपाल
१९ कार्तिक २०८३ १४:३६

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न नेपाल चिकित्सक संघले सरकारसँग जोडदार माग गरेको छ।

बिहीबार संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त रूपमा एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

सरकारले यसअघि गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने र गलत नियुक्तिहरू सच्याउनुपर्ने मागसहित विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्याहरू उत्पन्न भएको संघले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “डा. केसीको स्वास्थ्यमा जटिल समस्याहरू उत्पन्न भएको हुँदा उहाँको जीवन रक्षाका लागि उहाँसँग अविलम्ब वार्ता गर्ने वातावरण मिलाई उहाँले उठाउनु भएका जायज मागहरू तत्काल सम्बोधन गरी समस्याको समाधान खोज्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ।”

अघिल्ला सत्याग्रहका क्रममा भएका सहमतिहरू हुबहु कार्यान्वयन नगरिएको र त्यसको विपरीत स्वार्थ बाझिने गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा विवादस्पद नियुक्तिहरू गरिएको भन्दै डा. केसी पुनः आमरण अनसनमा बसेका हुन्।

सत्याग्रहकै क्रममा स्वास्थ्यमा गम्भीर समस्या देखिएएपछि उनलाई इलामबाट काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार सुरु गरिएको छ।

डा. केसीको जीवन रक्षा र आगामी कदमबारे थप रणनीति तय गर्न नेपाल चिकित्सक संघले शुक्रबार दिउँसो १ बजे आफ्नै कार्यालयमा एक आकस्मिक छलफल कार्यक्रमसमेत आयोजना गरेको छ। उक्त छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अभियन्ता र चिकित्सकहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *