नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित

डिसी नेपाल
१९ कार्तिक २०८३ १३:४०

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा नेपाली कांग्रेसको तर्फबाट सहभागिता जनाउँदै सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा उनले नेपालको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, वैदेशिक लगानी आकर्षण तथा स्वदेशी उद्योगहरूलाई विश्व बजारसँग प्रभावकारी रूपमा जोड्नुपर्नेमा विशेष जोड दिएका छन्।

आईक्याप एसियाका विभिन्न देशका राजनीतिक दलहरूबीच निरन्तर संवाद, सहकार्य र अनुभव आदानप्रदान गर्ने साझा क्षेत्रीय मञ्च हो। सन् २००० मा स्थापना भएको यस संस्थाले क्षेत्रीय शान्ति, स्थायित्व, लोकतन्त्र, आर्थिक विकास र आपसी समझदारी प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखेको छ।

सम्मेलनमा एसियाली मुलुकका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भई साझा चुनौती तथा क्षेत्रीय एवं विश्वव्यापी मुद्दाहरूमा गहन छलफल गर्ने गर्छन्।

कार्यक्रममा बोल्दै उपसभापति चौधरीले दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अत्यन्तै अनुकरणीय रहेको बताए। विश्वस्तरमा पहिचान स्थापित गरेका ब्रान्ड निर्माण, निजी क्षेत्रको सशक्तीकरण र सरकार तथा निजी क्षेत्रबीचको प्रभावकारी सहकार्यबाट नै दक्षिण कोरियाले आफ्नो अर्थतन्त्रमा उल्लेखनीय रूपान्तरण गर्न सफल भएको उनको भनाइ थियो।

निजी उद्यमलाई विस्तार, प्रतिस्पर्धा र विश्व बजारमा स्थापित हुन अनुकूल वातावरण सिर्जना गर्दै राज्यले रणनीतिक स्वामित्व र विकासको मार्गदर्शक भूमिका निर्वाह गर्नु दक्षिण कोरियाली विकास मोडलको मुख्य विशेषता रहेको उनले उल्लेख गरे।

नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत र नेपालको राजनीतिक तथा आर्थिक विकासमा पार्टीले पुर्‍याएको योगदानको चर्चा गर्दै चौधरीले विगतका कमीकमजोरी र गुमेका अवसरहरूलाई स्वीकार गर्दै वर्तमान नेतृत्व र समग्र पार्टी त्यसलाई सच्याएर अघि बढ्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र विश्वव्यापीकरणको महत्त्वलाई नेपाली कांग्रेसले सधैँ आत्मसात् गर्दै आएको स्मरण गराउँदै उनले लोकतन्त्र र उदार आर्थिक नीतिलाई विकासका आधारभूत स्तम्भका रूपमा व्याख्या गरे। नेपालको भावी विकास रणनीति पनि यिनै सर्वमान्य मान्यतामा आधारित हुनुपर्ने उनको दृढ धारणा थियो।

सम्बोधनका क्रममा चौधरीले पछिल्लो समय नेपालमा युवा पुस्ताले उठाएका भ्रष्टाचार, जवाफदेहिता, सुशासन र अवसरसँग सम्बन्धित प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। युवा वर्गमा देखिएको असन्तुष्टिलाई केवल राजनीतिक स्वीकारोक्तिमा मात्र सीमित नराखी सार्थक सुधार र स्पष्ट परिणाममार्फत सम्बोधन गर्नुपर्ने उनले बताए।

राजनीतिक नेतृत्वप्रतिको विश्वास स्वतः प्राप्त नहुने स्पष्ट पार्दै उनले इमानदारी, पारदर्शिता र परिणाममुखी कार्यबाट मात्रै जनविश्वास आर्जन गर्न सकिने बताए। राजनीतिक संस्थाहरूलाई अझ बढी खुला, जवाफदेही र नागरिकका आकांक्षाप्रति उत्तरदायी बनाउनुपर्नेमा पनि उनले जोड दिए।

राजनीतिक नवीकरणसँगै आर्थिक अवसरको विस्तार अपरिहार्य रहेको उल्लेख गर्दै चौधरीले युवाहरूका लागि स्वदेशमै रोजगारी, उद्यमशीलता, आधुनिक सीप र उज्ज्वल भविष्य निर्माणका अवसर सिर्जना गर्नु राजनीतिक नेतृत्वको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताए।

यसैगरी, एसियाली मुलुकहरूबीच सुशासन, युवा सहभागिता, उद्यम विकास, प्रविधिको जिम्मेवार प्रयोग र जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सम्बोधनमा अनुभव आदानप्रदान तथा क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। “राजनीतिक नेतृत्वको वास्तविक मूल्य हामीले कति शक्ति प्राप्त गर्‍यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्न सक्यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुन्छ,” चौधरीले आफ्नो सम्बोधनमा भने।

साथै, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको गम्भीर जोखिमबारे चर्चा गर्दै चौधरीले हालै नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई एउटा गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए। जलवायु परिवर्तनको नकारात्मक असर कुनै एक देशमा मात्र सीमित नरहने उल्लेख गर्दै उनले यसको जोखिम न्यूनीकरणका लागि विश्वका सबै मुलुकहरूले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए।

आईक्यापको स्ट्यान्डिङ कमिटीमा विनोद चौधरी निर्वाचित

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको सियोलमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो।

एसियाका विभिन्न मुलुकका प्रमुख राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी यस महासभाबाट चौधरी निर्वाचित भएसँगै क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागिता अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।

आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका दलहरूबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने महत्त्वपूर्ण क्षेत्रीय मञ्च हो। यसको स्ट्यान्डिङ कमिटीले संस्थाका समग्र गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न निर्णायक भूमिका निर्वाह गर्छ।

उक्त स्ट्यान्डिङ कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री एवं संसद्का नेता बिमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक तथा हाउस अफ काउन्सिलर्सकी सदस्य माइको ताजिमालगायत एसियाका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन्।

व्यवसाय, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका चौधरीले स्ट्यान्डिङ कमिटी सदस्यका रूपमा लोकतान्त्रिक शासन व्यवस्था, आर्थिक विकास, उद्यमशीलता, युवा आकांक्षा तथा एसियाली राजनीतिक दलहरूबीचको सहकार्यका विषयमा हुने क्षेत्रीय छलफलहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अवसर प्राप्त गरेका छन्।

चौधरीको यो निर्वाचनले नेपालको आर्थिक रूपान्तरण, समावेशी विकास र अन्तर्राष्ट्रिय सहकार्यका विषयहरूलाई एसियाली राजनीतिक मञ्चमा प्रभावकारी रूपमा उठाउने ढोकासमेत खोलेको छ।

उल्लेखनीय छ, विनोद चौधरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको उपसभापति पदमा निर्वाचित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *