अयोध्या-जनकपुर रेल सञ्चालनको तयारी तीव्र: ट्र्याक परीक्षणका लागि जनकपुरधाम आइपुग्यो भारतीय रेल
जनकपुर । धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सीधा रेल सञ्चालन गर्ने तयारी युद्धस्तरमा अघि बढाइएको छ।
विगत एक महिनादेखि नेपाल र भारतका रेल्वे विभागका उच्च अधिकारी तथा कर्मचारीहरूले नियमित रूपमा स्थलगत अनुगमन तथा द्विपक्षीय छलफल गर्दै आएका छन्।
यसैबिच, रेल सञ्चालन पूर्वको तयारी स्वरूप बिहीबार भारतबाट १७ बोगीको एक ठूलो भारतीय प्यासेन्जर ट्रेन ट्र्याक परीक्षण (ट्र्याक टेस्ट) का लागि जनकपुरधाम आइपुगेको छ।
नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार, हाल सञ्चालनमा रहेको रेल्वे ट्र्याकमा ठूलो र बढी क्षमता भएको यस्तो लामो ट्रेन सहज रूपमा चल्न सक्छ वा सक्दैन भन्ने प्राविधिक जाँच गर्न भारतको ‘इस्ट सेन्ट्रल रेल्वे’ द्वारा यो परीक्षण गरिएको हो।
आज जनकपुर आइपुगेको उक्त विशेष रेलमा भारतीय रेल विभागका ६७ जना उच्च पदाधिकारीहरू समेत परीक्षण टोलीका रूपमा कुर्था स्टेसनसम्मै सवार भएर आएका थिए। परीक्षण कार्य सम्पन्न गरेर सो रेल आजै भारत फर्कने र त्यसको प्राविधिक प्रतिवेदन तयार गरी सम्बन्धित निकायहरूमा बुझाइने महाप्रबन्धक पराजुलीले जानकारी दिएका छन्।
अयोध्या-जनकपुर रेल सञ्चालनको तयारी अन्तिम चरणमा पुगे पनि नियमित सेवा औपचारिक रूपमा कहिलेदेखि सुरु हुन्छ भन्ने मिति भने हालसम्म यकिन भइसकेको छैन।
दुई देशका रेल्वे विभागबिच सञ्चालन र व्यवस्थापनसम्बन्धी औपचारिक सम्झौता लगायतका केही प्रशासनिक तथा प्राविधिक कार्यहरू अझै बाँकी रहेको जनाइएको छ। साथै, नेपालतर्फ पर्ने विभिन्न स्टेसन तथा हल्टहरूको मर्मतसम्भार, रंगरोगन र सरसफाइका कामहरू पनि तीव्रताका साथ भइरहेका छन्।
प्राप्त जानकारी अनुसार, अयोध्याबाट जनकपुरधामसम्म चल्ने यस ऐतिहासिक रेल सेवाको उद्घाटन सम्भवतः प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा गर्ने तयारी भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment