उपभोक्ता ठगीमाः भाटभटेनीलाई रु ५० हजार जरिवाना

डिसी नेपाल
१७ असोज २०७८ १८:००

काठमाडौं ।  नेपालीको महान् चाड दसैँतिहार नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्नुका साथै कालो बजार पनि सलबलाएको छ । यहि मौका छोपी बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो । बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रुपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगी गरेको पाइएको छ ।

आज बिहान भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्य सूची टाँसेर सामान बिक्री गरेको पाइएको छ । दैनिक उपभोग्य सामानमा समेत पसलै पिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ । अनुगमन टोलीले विभिन्न सामानहरुको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ भने नापतौलमा फरक परेको पाइएको छ । नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिनभित्र कार्यालयमा उपस्थित भई सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ ।

सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तलाई नाफा छुट नदिई बिक्री गरेको पाइएको छ । हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ । सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सात वर्षदेखि नापतौलको अनुमति नै नलिई सामान बिक्री गरेको पाइएको छ । आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ ।

सूर्यविनायकको दीपु इम्पेक्समा अनुगमन गर्नाका साथै चुनदेवीस्थित चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ । चुनदेवी स्टोरको सञ्चालक निलिमा कार्माचार्यलाई तत्कालै रु १० हजार जरिवाना गरेको छ । स्टोरले बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालो बजारी गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

यसअघि प्रशासनको नेतृत्वमा मध्यपुरथिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटको अनुगमनमा भाटभटेनीले खरिद बिलबिजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्री वितरण गरेको पाइएको उनले जानकारी दिए । अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु कालोबजारी गरेको पाइएको थियो भने चिनीमा कालो बजारीसम्बन्धी ऐनले तोकेको खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मुनाफा लिएर वस्तु बिक्री वितरण गरेको पाइएको छ । ऐनले यसो गरेमा कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ ।

भाटभटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको छ । भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी रु ८९ मा बिक्री वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ भने बोतलको पानी रु २६ मा खरिद गरेर रु ४५ मा बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको फुटेकोसमेत बिक्रीका लागि राखेको, तरकारी र फलफूलमा उपभोक्तालाई ठगी गरेको, तरकारीका प्याकेटमा मूल्य राखे पनि तौल नराखेर प्रतिकेजी मूल्य कति हो ? उपभोक्तालाई जानकारी नदिई बिक्री गरेको पाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *