सुनसरी हिरासतमा मृत्यु भएका साहको अवस्थाबारे सत्य तथ्य बाहिर ल्याउँछाैं : गृहमन्त्री खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सुनसरी हिरासतमा मृत्यु भएका मोहम्मद हकिम साहको अवस्थाबारे सत्य तथ्य बाहिर ल्याउने प्रतिवद्धता जनाएका छन्।
गत असोज २४ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकिम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा मृत्यु भएको थियो।
उनको मृत्युबारे छानवीन गरी तथ्य बाहिर ल्याउन र दोषीलाई दोष अनुसारको कारवाही गर्न आफू प्रतिबद्ध रहेको मन्त्री खाणले आश्वासन दिएका हुन्।
आइतबार गृह मन्त्रालयमा मुस्लिमसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले सरकार नागरिकको जीवन रक्षा गर्न लागिपरेको बताए। उनले सामाजिक सद्भाव कायम राख्दै तथ्य बाहिर ल्याउन सरकार र आफू संवेदनशील रहेको बताए। थुनामा रहेका व्यक्ति मात्रै होइन, बाहिर रहेका व्यक्रिको पनि ज्यान जान नहुने गृहमन्त्री खाणको भनाई थियो।
सबै नागरिक आफ्नो धर्म सस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उनले बताए। ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई भंग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकारकर्मी, सिआइबीका प्रमुख, कानुनविज्ञ, विधि विज्ञान प्रयोगशालाका विज्ञ नागरिक समाजका प्रतिनिधि सम्मिलित गराउन माग गरिएको छ।
त्यसबारे गृहमन्त्री खाणले सरकारले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा छानबिन समिति सिधै बनाउन नसक्ने र न्यायपालिकाको अनुमति माग्नु पर्ने बताएका थिए। त्यसो गर्दा छानबिन गर्न ढिला हुने भन्दै अर्को समिति बनाउने वा स्थानीयले विश्वास गर्नेगरी अहिलेको छानबिन समितिका सदस्यहरूलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको थियो।
रानी शर्मासँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेका साहलाई शर्माका बुबा विष्णु शर्मा खत्वेको मिलेमतोमा हत्या भएको आशंका स्थानीयको छ।
उनीहरूले पछिल्लो समय रानीले सामाजिक सञ्जालमा लेखेका धारणाले पनि त्यो देखाउने भन्दै उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेका छन्। इस्लामी संघका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लीम संघका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीसहित ११ जनाले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए।







डिसी नेपाल








Facebook Comment