बुढीगण्डकीको बाढीले उजाडियो विशालनगर–स्याउली बजार, एक महिना बित्दा पनि पीडितको बिचल्ली!
गोरखा । असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित विशालनगर–स्याउली बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीले घर, खेतबारी, पशुचौपाया, सडक तथा स्थानीय पूर्वाधारमा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन अझै सामान्य बन्न सकेको छैन।
बाढीले कतिपय घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने कतिपय घरभित्र माटो र गेग्रान थुप्रिएर बस्नै नमिल्ने अवस्थामा पुगेका छन्। बाढी गएको करिब एक महिना बित्न लाग्दासमेत प्रभावित क्षेत्रको सरसफाइ, भग्नावशेष व्यवस्थापन र पीडितको पुनःस्थापनामा पर्याप्त ध्यान नपुगेको स्थानीयको गुनासो छ।
बाढीले स्थानीयको घरबारसँगै वर्षभरि खाने अन्न र जीविकोपार्जनको आधारसमेत बगाएको छ। स्थानीय सुर श्रेष्ठका अनुसार बाढीले धानखेती लगाइएको खेत पूर्ण रूपमा नष्ट गरेको छ। करिब ५० मुरी धान उत्पादन हुने खेत बगाएपछि यस वर्ष परिवारको खाद्यान्न जोहो गर्ने आधारसमेत गुमेको उनले बताए।
बाढीको हल्ला फैलिएपछि स्थानीयले घरघरमा पुगेर सुरक्षित स्थानमा जान आग्रह गरेका थिए। त्यसपछि श्रेष्ठ र उनकी श्रीमतीले लगाउने कपडा झोलामा हालेर घर छाडेका थिए। दशैँ खर्चका लागि छुट्याएर राखेको ५० हजार रुपैयाँ खल्तीमा राख्दै ज्यान जोगाउन घरबाट निस्किएको क्षण सम्झँदा उनी अझै भावुक हुन्छन्।
‘२५ सालमा पनि यस्तो बाढी आएको थियो। त्यसबेला घर बगाएको भए पनि अहिले जस्तो खेतबारीमा माथिसम्मै पुगेर रोपेको धान सबै बगाएको थिएन,’ उनले भने, ‘यसपालि त खेतमा लगाएको सबै बाली सखाप भयो।’
बाढीले घरबारविहीन बनाएका स्थानीयको अवस्था अझै दयनीय छ। स्थानीय राजकुमार दाहालका अनुसार बाढी गएको लामो समय बितिसक्दा पनि प्रभावित बस्तीमा राज्यका तर्फबाट आवश्यक सरसफाइ र पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। ढलेका घर, थुप्रिएको माटो र फोहोर हटाउने कामसमेत स्थानीयले आफ्नै खर्च र श्रममा गरिरहेका छन्।
‘बाढीले घर ढालेको छ, बाटो बन्द भएको छ। घरभित्र र वरपर थुप्रिएको माटो र भग्नावशेष हटाउन पनि आफैँ लाग्नुपरेको छ,’ उनले भने, ‘राज्यका तर्फबाट अहिलेसम्म प्रभावकारी सहयोग आएको छैन। विभिन्न संस्थाबाट आएको राहतसमेत फिर्ता गरिएको छ।’
दशैँका बेला घर गुमाएका बाढीपीडित चुलीदेवी विद्यालयको भवनमा आश्रय लिन पुगेका थिए। तर त्यहाँ बसोबास र खानपानको पर्याप्त व्यवस्था नहुँदा थप समस्या भोग्नुपरेको दाहालले बताए। उनका अनुसार बाढी प्रभावितको वास्तविक अवस्था बुझ्न र क्षतिग्रस्त बस्तीको अवलोकन गर्न जनप्रतिनिधि तथा सरोकारवाला निकायसमेत नपुगेको स्थानीयको गुनासो छ।
दाहालले बाढीले क्षति पुर्याएको नयाँ पुल क्षेत्रमा मात्रै जनप्रतिनिधि तथा अन्य सरोकारवालाको ध्यान केन्द्रित भएको आरोप लगाए। बस्तीभित्र भएको ठूलो विनाशप्रति भने बेवास्ता गरिएको उनको भनाइ छ। क्षतिग्रस्त सडक र बाटोसमेत स्थानीयले घरघरबाट बाटो खोल्दै आवतजावत सहज बनाउने प्रयास गरिरहेका छन्।
‘डोजर आएर पनि बस्तीभित्रसम्म पुग्न सकेन। घर भत्काएर र स्थानीयको सहयोगमा बाटो खोल्नुपरेको छ,’ उनले भने, ‘हामीले ठूलो क्षति बेहोरेका छौँ, तर हाम्रो पीडा सुनिदिने र बोलिदिने कोही छैन। राज्यले हाम्रो अवस्था बुझोस्।’
बाढीबाट प्रभावित अर्की स्थानीय राममाया घलेको पीडा पनि उस्तै छ। बाढीले उनको घरभित्रैसम्म माटो र गेग्रान थुपारेपछि बस्नै नमिल्ने भएको छ। घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री डुबेर नष्ट भएका छन्। पशुचौपायासमेत बाढीको चपेटामा परेका छन्। बाख्रा फुकाएर ज्यान जोगाए पनि घरभित्रका सामान निकाल्न नपाएको उनले बताइन्।
‘घरभित्रसम्म माटो भरिएको छ। बस्न सक्ने अवस्था छैन। अब कहाँ जाने, कहाँ बस्ने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘माटो फाल्ने शक्ति छैन, साना छोराछोरी छन्। सहयोग गर्ने मान्छे पनि छैनन्।’
बाढीले घर र सम्पत्तिमा मात्रै क्षति पुर्याएको छैन, प्रभावित परिवारको मानसिक अवस्था र जीविकोपार्जनमा समेत गम्भीर असर पारेको छ। दशैँको समयमा आएको बाढीका कारण चाडपर्व मनाउन नपाएको घलेको भनाइ छ। घरमा पालेका बङ्गुर तथा अन्य पशुचौपायामा समेत क्षति पुगेपछि परिवारको आम्दानीको स्रोत थप संकटमा परेको छ।
विशालनगर–स्याउली बजारमा बाढीले घर, खेतबारी, सडक र स्थानीय पूर्वाधारमा क्षति पुर्याउँदा प्रभावित परिवार अहिले आधारभूत आवश्यकताकै अभावमा छन्। घर फर्केर बस्न सक्ने अवस्था छैन भने सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था पनि हुन सकेको छैन।
बाढीबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, प्रभावित बस्तीको सरसफाइ तथा भग्नावशेष व्यवस्थापन गर्न र क्षतिग्रस्त घर तथा पूर्वाधारको पुनर्निर्माण अघि बढाउन स्थानीयले सरकारसँग माग गरेका छन्। साथै, गुमेको जीविकोपार्जनको आधार पुनःस्थापना गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।
बाढीको वितण्डाले घरखेत गुमाएका विशालनगर–स्याउलीका बासिन्दा अहिले पनि आफ्नो थातथलोमा सुरक्षित रूपमा फर्किने दिनको प्रतीक्षामा छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment