तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

डिसी नेपाल
८ कार्तिक २०७८ ७:०२

दमौली । राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९० ले विवरण दर्ता गराएका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार एक हजार ९०५ महिला र दुई हजार ४८५ पुरुषले राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका छन्। जिल्ला प्रशासन कार्यालयमा विसं २०७६ साउन ६ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि दुई स्टेशन स्थापना गरिएको छ।

प्रशासन कार्यालयबाट नागरिकता बनाएलगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको छ। “नागरिकता बनाउन आउने सबैलाई राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सहजीकरण गरिएको छ”, उनले भने। परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ। यस्तै फारममा औंलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ।

पहिलो चरणमा गण्डकी प्रदेशका तनहुँ र स्याङ्जामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन शुरु भएको थियो। सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ। यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ। सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ।

राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *