राज्य व्यवस्था समितिको बैठक बोलाउन कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका पछिल्ला विवादित घटनाक्रमबारे तत्काल छलफल गर्नुपर्ने भन्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ।
समितिमा रहेका कांग्रेसका चार सांसद अर्जुननरसिंह केसी, निश्कल राई, भीष्मराज आङदेम्बे र रेखाकुमारी यादवले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १७८ अनुसार समिति सभापति हरि ढकालसमक्ष निवेदन पेस गर्दै अविलम्ब बैठक बोलाउन आग्रह गरेका हुन्।
सांसदहरूले राज्यका निकायहरूलाई संसद्प्रति पूर्ण रूपमा जवाफदेही बनाउन, उनीहरूका कामकारबाहीमाथि आवश्यक छानबिन गर्न र उपयुक्त निर्देशन जारी गर्न समितिको बैठक तुरुन्तै बस्नुपर्ने आवश्यकता औंल्याएका छन्। पछिल्ला दिनहरूमा राज्य संयन्त्रको दुरुपयोग तथा अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेकाले संसदीय निगरानी अपरिहार्य बनेको उनीहरूको भनाइ छ।
विशेष गरी बिचौलिया भनिएका इनम सापकोटा प्रकरणमा राज्य संयन्त्रको अनुचित प्रयोग भएको विषयलाई कांग्रेस सांसदहरूले गम्भीरतापूर्वक उठाएका छन्। त्यसैगरी, प्रहरी हिरासतमा रहेका व्यक्तिको फोन तथा अडियो अनधिकृत व्यक्तिको पहुँचसम्म पुग्नुले अनुसन्धान प्रक्रियाकै निष्पक्षता र गोपनीयतामाथि गम्भीर संशय पैदा गरेको भन्दै उनीहरूले यस विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment