अफगानी नागरिकहरु नेपाल प्रवेश गरेपछि सीमा नाका कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रबाट अफगानी नागरिकहरु बिना उल्झन नेपाल प्रवेश गरेपछि गृहमन्त्रालयले सीमा नाका कडाई गर्न सुरक्षा निकायहरुलाई कडा निर्दैशन दिएको छ ।
तीन दिन यता गृहमन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा मन्त्रालयले सुरक्षा निकायका प्रमुखलाई सीमा नाका कडाइ गर्न निर्देशन दिएको हो । ‘सीमा क्षेत्रको चेकजाँचमा कही कतै फितलो भएको देखिन्छ यसलाई सुरक्षा निकायको उपस्थिति र चेकजाँच कडाई गर्न निर्दैशन दिएको हो’, मन्त्रालय स्रोतले भन्यो । द्वन्दग्रस्त मुलुकबाट नेपालमा शरणार्थीका रुपमा मानिसहरु भित्रन थालेपछि सुरक्षा निकायले सुरक्षा चुनौति बढेको र यसलाई कडाई गर्ने संयन्त्र आवश्यक रहेको भन्दै सुरक्षा समितिको बैठक राख्न प्रस्ताव गरेको थियो ।
शुक्रबार साँझ देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो । बैठकमा कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो । ‘नेपाल भारत सीमा क्षेत्रमा कडाई गर्नुपर्छ भनेर सुरक्षा निकायलाई निर्दैशन दिइएको छ । मन्त्रालयले सुरक्षा निकायलाई आवश्यक पर्ने सबै व्यवस्थापन गर्ने बैठकबाट निर्णय भएको छ’, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने ।
बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने गर्ने निर्णय भएको थियो । कडाई गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था गर्ने, अध्यागन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ । ‘अहिलेको अवस्थामा भारतबाट नेपाल आउने नागरिकहरुलाई कुनै रोकावट छैन र भारत जाने नागरिकलाई पनि त्यही अवस्था छ । तर यसको फाइदा द्वन्दग्रस्त मुलुकबाट शरणार्थी बन्ने नागरिकलाई भैरहेको छ भन्ने रिपोटिङ भयो’, मन्त्रालयका प्रवक्ता पोखरेलले भने ।
त्यसैगरी पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाच गर्ने पनि बैठकमा निर्णय भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा द्वन्दग्रस्त मुलुकबाट नेपाल आउने थप नागरिकलाई प्रवेश गर्न नदिन के गर्ने भन्नेबारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले गृहमन्त्री खाँणलाई ब्रिफिङ गरिएको थियो ।
बैठकमा गृहमन्त्री खाणले अनाधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नु आवश्यक पर्ने सबै व्यवस्था गर्न निर्दैशन दिएका थिए । बैठकमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुन्न कुमार कार्की सहभागी थिए । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालपनि बैठकमा सहभागी भएका थिए ।
मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयका प्रतिनीधिलाई समेत सहभागी गराएर आइतबार पुनः सुरक्षा समितिको बैठक बस्नेछ ।







डिसी नेपाल







Facebook Comment