आईओएम अमेरिकामा कार्यरत बर्खा खड्काकाे सडक दुर्घटनामा निधन

डिसी नेपाल
८ मंसिर २०७८ ७:२४

मेरिल्याण्ड। अमेरिकाको मेरिल्याण्डमा भएको एउटा सडक दुर्घटनामा एकजना नेपाली महिला बर्खा खड्काको निधन भएको छ। नोभेम्बर २२ तारिकको सांझ ६ बजेर ५५ मिनेट जांदा बाटो काट्नेक्रममा तीब्र गतिमा आएको एउटा कारले खड्कालाई हानेको थियो।

मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी पुलिस विभागले दिएको जानकारीअनुसार, ४० बर्षीय मृतक खड्का मेरिल्याण्डको ल्याण्डओभरमा बसोवास गर्दै आएकी थिइन्। मेडिकल सेन्टर ड्राइभ र सपरको इन्टरसेक्सनमा सडक पार गर्ने क्रममा रहेकी खड्कालाई कारले ठक्कर दिएको थियो।(हेर्नुहोस् काउन्टी पुलिसबाट जारी जानकारी) ।

दुर्घटना लगत्तै उनलाई नजिकको अस्पताल पुर्‍याइए पनि तत्कालै उनको मृत्यु भएको काउन्टी प्रहरीले जनाएको छ। उनलाई ठक्कर दिने कारको पहिचान नोभेम्बर २३ तारिकमा भएको तर सो कारको चालकलाई भने पत्ता लगाउन अझै नसकिएको प्रहरीले जनाएको छ।

समाचारअनुसार, मृतक खड्का इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन(आईओएम) अमेरिकाको कार्यालय वासिंगटन डिसीमा केही समयदेखि कार्यरत थिइन्। उनी नेपालको झापा निवासी हुन् र उनको बाँकी परिवार झापामै छ।

अफगानिस्तानबाट अमेरिका ल्याइएका अफगानी शरणार्थीहरुको सहयोगको काममा आईएमओबाट खटिएकी उनी केही समय भर्जिनिया स्थित क्याम्पमा कार्यरत रही हालसालैमात्र डिसीस्थित कार्यालयमा काम शुरु गरेकी थिइन्।

उनी अमेरिका आएको पनि एक महिनमात्र भएको बताइएको छ। दुर्घटनाको ५ दिनअघि मात्र पदोन्नति भएर डिसीस्थित कार्यालयमा काम शुरु गरेकी थिइन्। मेरिल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले सो दुर्घटनापछि स्थानीय पुलिस र परिवारसँग समन्वयको काम गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *