यसकारण कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भए अमरेशकुमार सिंह

डिसी नेपाल
२२ मंसिर २०७८ ११:३४
420
Shares

सर्लाही। नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा सांसदसमेत रहेका अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन् । सर्लाही–४ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका अमरेशसहित उनका प्यानलले हार व्यहोरेको हो। प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री रहेका वीरेन्द्रप्रसाद सिंहको प्यानलसँग अमरेश पराजित भएका हुन्।

वीरेन्द्रको प्यानलमा रहेका महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू ५०० भन्दा बढी मत ल्याई विजयी हुँदा अमरेशले २४८ मत मात्र ल्याएर पराजय व्यहोरेका हुन् । वीरेन्द्रको प्यानलमा सुरेन्द्रप्रसाद सिंह ५१६ , विरेन्द्रप्रसाद सिंह ५१४ , राजेश्वरप्रसाद सिंह ५१४ , रघुवीर कार्की ५१३ मतसहित महाधिवेशन प्रतिनिधिमा ५०० भन्दा बढी मतका साथ २४ जना विजयी भएका हुन् ।

क्षेत्रीय अधिवेशनबाट सभापति पदमा रामआश्रय साह विजयी भएका छन् । शाहले ५१६ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरेन्द्र सहनीले २२० मत ल्याएका छन् । क्षेत्रीय कार्यसमितिमा साहकै प्यानल विजयी भएको छ । उनी मन्त्री वीरेन्द्रप्रसाद सिंह निकट हुन् ।

सर्लाही–४ का बलिया नेताका रूपमा चिनिएका अमरेश पराजित भएका हुन् । १३ औं महाधिवेशनमा क्षेत्रमा आफ्नो अनुकुल राजनीतिक अवस्था सिर्जना गरेका अमरेश संघीय संसदमा उम्मेदवारी दिँदा क्षेत्रका बलिया नेतामा पर्थे ।

उनलाई निर्वाचित गराएपछि विकास मात्र नभई स्थानीय स्तरले मुहार फेर्नेमा जनता विश्वत थिए । तर, संघीय सांसद भएपछि स्थानीय भोटर मात्र नभई कार्यकर्तासँग पनि दुरी बढाएपछि अमरेश विस्तारै अलोकप्रिय हुन् थाले ।

निर्वाचनमा स्थानीयलाई गरेका वाचा, विकासका कार्यमा उनको सहभागितालाई लिएर स्थानीयले उठाउने प्रश्न कार्यकर्ताले तेर्साउँदासमेत बेवास्ता गर्न थालेपछि उनको विकल्पक रुपमा वीरेन्द्र उदाएका हुन् ।

कांग्रेसले संघीय र प्रदेश सांसदको उम्मेदवारीका समयमा गरेको वाचालाई सकेसम्म सम्बोधन गरेपछि कार्यकर्तासँगै स्थानीय समक्ष पनि मन्त्री वीरेन्द्र लोकप्रिय हुँदै गए । क्षेत्र नम्बर ४ कै नेता श्याम कार्की नेता अमरेश आफ्नै दम्भको कारण आफ्नै क्षेत्रमै हारेको बताउँछन् ।

‘कार्यकर्ता र स्थानीयको अपेक्षाभन्दा पनि आफ्नै खुसी योजनाहरू ल्याउनु भयो । ती योजनाहरू केवल सम्पन्न नामका लागि मात्र भए । जसले उनी प्रतिको आश मात्र घटाएन, उनलाई अलोकप्रियसमेत बनाउदै गयो,’ नेता कार्कीले भने ।

उनले कार्यकर्तासँग दूरी बढाउँदाको परिणामले हारेको बताए । ‘अमरेशले कार्यकर्तालाई चिनेनन् । सम्पर्क गरेनन् । फोन उठाएनन् । समस्या बुझेनन्, त्यसैले महाधिवेशनमा कार्यकर्ताले पनि उनलाई चिनेनन्,’ कार्कीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.