शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरणमा संस्थागत स्मृतिको अभाव : सुवेदी
काठमाडौं। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरणमा संस्थागत स्मृतिको अभाव देखिएको बताएका छन्।
सुवेदीद्वारा लिखित पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिकरण कार्यक्रममा बोल्दै सुवेदीले २०३६ सालदेखि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलनको २०८३ सालसम्म आइपुग्दा पर्याप्त अभिलेखीकरण हुन नसकेको बताए।
उनले संगठनहरू भने २००७ सालदेखि नै गठन हुन थालेको उल्लेख गर्दै शिक्षक आन्दोलनको इतिहासलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न नसक्नु दुःखद् भएको बताए।
उनले भने,‘२०३६ सालदेखि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन २०८३ सालसम्म आइपुग्दा पनि पर्याप्त रूपमा अभिलेखीकरण हुन सकेन। संगठनहरू २००७ सालदेखि नै सुरु भएका थिए, तर संस्थागत स्मृति हामीसँग रहेनछ। शिक्षक आन्दोलनको इतिहासलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न नसक्नु सबैका लागि पीडाको कुरा हो।’
उनले शिक्षक आन्दोलनको इतिहास तयार पार्ने क्रममा आफूले विभिन्न स्रोत तथा सामग्रीको अध्ययन गरेको जानकारी दिए। उनका अनुसार कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा पुगेर गोरखापत्रलगायत पुराना पत्रपत्रिका अध्ययन गर्नुका साथै विभिन्न संघसंस्था तथा संगठनका स्मारिका र अन्य सामग्रीहरू खोजी गरिएको थियो।
पुराना शिक्षक नेताहरूसँग व्यक्तिगत रूपमा अन्तर्वार्ता लिएर त्यसलाई रेकर्डसमेत गरिएको उनले बताए। इतिहास लेखनका क्रममा आफूले आधिकारिक रूपमा प्रमाणित तथ्यलाई मात्र पुस्तकमा समावेश गरेको सुवेदीको भनाइ छ।
उनले भने, ‘त्यहाँभित्र थुप्रै कुरा छुटेका छन्, छुटेका कुरामा आधिकारिकता प्रमाणित भएमा दोस्रो, तेस्रो संस्करणमा अवश्य समावेश गर्नेछौँ।’
सुवेदीले इतिहास लेख्दा सकारात्मक र नकारात्मक दुवै पक्ष समेट्नुपर्ने बताए। सही सूचना प्रस्तुत नगर्दा इतिहासप्रति अन्याय हुने भन्दै उनले व्यक्तिको प्रतिष्ठामा सकेसम्म कम आँच आउने गरी तथ्य प्रस्तुत गर्न आफू सचेत रहेको बताए।
कार्यक्रममा उनले शिक्षक आन्दोलनमा नेतृत्वको अडान र सक्रियतासँगै बौद्धिक पक्षलाई पनि आफूले महत्त्व दिने गरेको बताए। उनले शिक्षक आन्दोलनमा आफूले भेटेका नेतृत्वमध्ये केशव दाइको बौद्धिक पक्ष सबैभन्दा बलियो रहेको धारणा व्यक्त गरे।
उनले शिक्षक आन्दोलनको इतिहासलाई आगामी दिनमा थप परिष्कृत र समृद्ध बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। पुस्तक प्रकाशनपछि प्राप्त हुने सुझाव, छुटेका तथ्य तथा प्रमाणित सामग्रीलाई आगामी संस्करणमा समेट्ने उनको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment