शोकबाट एकाएक खुसी: ११ औं दिनमा आमा भेटिएपछि पुरोहितले गराए किरिया फुकुवा

डिसी नेपाल
२० भदौ २०८३ १८:२७

काठमाडौं।  नुवाकोटको बेत्रावतीका ६४ वर्षीया चण्डिका श्रेष्ठका दुई छोराहरू आशिष र अनिश बिहीबारदेखि काजकिरियामा बसेका थिए।

१० भदौमा आएको भोटेकोशीको विनाशकारी बाढीले बुवा आनन्द श्रेष्ठ र आमा चण्डिकालाई घरसँगै बगाएपछि परिवारले आठ दिनसम्म लगातार खोजी गर्‍यो। तर, कुनै अत्तोपत्तो नपाएपछि अन्ततः आशा मारेर कुशको शव बनाई दाहसंस्कार गरेर काजकिरिया सुरु गरिएको थियो।

तर, शनिबार बिहान एकाएक अप्रत्याशित खबर आयो- ११ औँ दिनमा चण्डिका श्रेष्ठ पुरिएको घरभित्रै सकुशल भेटिइन्।

किरियापुत्री बसेका छोराहरूका लागि यो खबर सुरुमा पत्याउनै मुस्किल थियो। तर, एकाएक आफन्त र स्थानीयको लगातार फोन आउन थालेपछि उनीहरूको खुसीको सीमा रहेन।

बाढीले चण्डिकाको घर साविकको ठाउँबाट करिब १२० मिटर टाढा बगाएर पुर्‍याएको थियो। विदुर नगरपालिका-१० का वडा सदस्य मंगल तामाङका अनुसार, भत्किएको घरभित्रबाट मानिसको आवाज आएपछि स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयको टोलीले उद्धार गर्दा चण्डिका जीवितै भेटिइन्।

आमा सकुशल उद्धार भएको पुष्टि भएपछि पुरोहितले विधिपूर्वक किरिया फुकुवा गराएका छन्। बेत्रावती लाखे क्लबका अध्यक्ष शशी डंगोलका अनुसार आमा भेटिएपछि छोराहरू शनिबार नै किरियाघरबाट उठेका छन्। चण्डिकालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

यद्यपि, उनका श्रीमान् आनन्द श्रेष्ठ अझै बेपत्ता छन्। अस्पतालबाट डिस्चार्ज भएपछि र श्रीमान्‌को अवस्थाबारे अन्तिम टुङ्गो लागेपछि मात्र परिवारले पुनः काजकिरियाबारे निर्णय गर्ने बताइएको छ।

बाढी आएको ११ दिनपछि पनि मानिस जीवितै उद्धार भएपछि बेत्रावतीका स्थानीय बासिन्दाले बगाएका र पुरिएका प्रत्येक घरमा पुनः घनीभूत खोजतलास गर्न सरकारसँग माग गरेका छन्। यतिबेला बेत्रावतीका धेरै परिवारले बेपत्ता भएका आफ्ना सदस्यहरूको आशा मारेर कुशको शव बनाई काजकिरिया गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *