राससकर्मी गौतम पुरस्कृत
काठमाडौं ।राष्ट्रिय समाचार समिति (रासस)का म्याग्दी समाचारदाता सन्तोष गौतम बुधबार धनेश्वरी–तारानाथ स्मृति कोषबाट पुरस्कृत भएका छन्।
बेनी नगरपालिका–५ पुलाचौरमा भएको समारोहमा मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँ, कोषका सचिव माधवप्रसाद रेग्मीलगायतले गौतमलाई रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरेको हो । विसं २०६४ देखि राससमा निरन्तर आबद्ध गौतमले पत्रकारिताको क्षेत्रबाट म्याग्दीको समग्र विकासमा पुर्याएको योगदानको सम्मानका लागि पुरस्कृत गरिएको कोषले जनाएको छ ।
धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत वर्ष शिक्षा, पत्रकारिता, साहित्य र सङ्गीत विधालाई समेटेर रु १५ लाखको अक्षयकोष स्थापना गरेको थियो । कोषबाट पहिलोपटक नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका सचिवसमेत रहेका गौतमसहित दुई जना साहित्यकार र १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
पत्रकारिता, शिक्षा र साहित्य विधामा रामप्रसाद सुवेदी, शिक्षा र साहित्य विधामा धु्रवलाल शर्मालाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको थियो । जनकल्याण माविबाट विस २०७७ को एसइइ परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने प्रकृति बानियाँलाई रु २० हजार प्रदान गरिएको छ ।
बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत विद्यालयको कक्षा नौका प्रथम विद्यार्थी शङ्कर पौडेललाई रु १५ हजार, एसइइमा जकल्याणमा खसआर्य समुदायबाट बढी जिपिए ल्याउने समिता सुवेदी, दलिततर्फ रितु किसान र जनजातितर्फ प्रदीप श्रेष्ठलाई पनि जनही रु १५ हजार प्रदान गरिएको थियो ।
जनकल्याण माविको सांस्कृतिकतर्फ उत्कृष्ट अञ्जना छिनाल, अङ्किता थापा, रेजिना रामदाम, सुवास विक र प्रविना पाइजालाई जनही रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा कोषले जनकल्याण माविको अक्षयकोषका लागि रु एक लाख ५५ हजार प्रदान गरेको थियो । कार्यक्रममा स्वर्गीय तारानाथ रेग्मीको स्मृतिग्रन्थको विमोचन गरिएको थियो । सो अवसरमा मदन पुरस्कार विजेता बानियाँलाई अभिनन्दनसमेत गरिएको थियो ।







डिसी नेपाल








Facebook Comment