कालीगण्डकीमा जलसतह घटेपछि १४४ मेगावाट विद्युत् उत्पादन पुनः सुरु गर्ने तयारी

डिसी नेपाल
१२ असोज २०८३ ८:४३

वालिङ (स्याङ्जा)। कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन पुनः सुरु गर्ने तयारी गरेको छ। स्याङ्जाको कालीगण्डकी–५ बेल्टारीस्थित आयोजनाले आज बिहान १० बजेदेखि विद्युत् उत्पादन सञ्चालन गर्ने तयारी गरेको हो।

चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि जोखिम न्यूनीकरणका लागि आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको थियो। अहिले नदीको जलसतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने तथा पावर हाउसको अवस्थाको निरीक्षण गरेर उत्पादन पुनः सञ्चालन गर्न लागिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले बताए।

उनका अनुसार नदीमा पानीको बहाव अत्यधिक भएपछि आयोजनाको सुरक्षालाई ध्यानमा राख्दै उत्पादन बन्द गरिएको थियो। प्राविधिक टोलीले बाढीपछि आयोजनाको बाँध, सुरुङ र पावर हाउसको अवस्थाबारे निरीक्षण गरिसकेको छ। निरीक्षणपछि उत्पादन सञ्चालन गर्न सकिने अवस्था देखिएपछि आज बिहान १० बजेदेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको उनले बताए।

कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाको मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडिएको थियो। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।

लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजारमा समेत असर पुर्‍याएको छ। बाढीका कारण सेतीवेणी बजार डुबानमा परेपछि २६ घरका स्थानीयलाई सुरक्षित स्थानमा रहेको विद्यालयमा राखिएको छ।

यसैबीच, आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको थियो। पुल बगाएपछि दुई जिल्लाबीचको आवागमन प्रभावित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *