लेनदेनको विवादमा आफ्नै साथीको हत्या

डिसी नेपाल
२२ मंसिर २०७८ २०:२७
552
Shares

काठमाडौं । लेनदेनको विवादमा आफ्नै साथीको हत्या भएको छ । राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका सदस्य राजन भन्ने राजु श्रेष्ठलाई २५ लाखको लेनदेनमा आफ्नै साथीले हत्या गरेका हुन् ।

प्रहरीले श्रेष्ठको हत्यामा संलग्न २ जनालाई पक्राउ गरेपछि साथीले नै हत्या गरेको पाइएको हो । पक्राउ पर्नेमा भक्तपुरका हेमन्त श्रेष्ठ र मोरङको लेटाङका प्रेम विश्वकर्मा रहेका छन् । राजुबाट २५ लाख रुपैयाँ लिएका हेमन्तले लेनदेन विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार हेमन्तले राजुबाट २५ लाख रुपैयाँ लिएको र केही रकम तिर्न बाँकी रहेका विषयमा लामो समयदेखि दुई जनाबीच विवाद रहेको थियो ।

‘ उनीहरुबीच लेनदेन विवाद रहेको र हेमन्तले अर्को एक जना साथीसँग मिलेर हत्या गरेको देखिन्छ’, अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापङले बताए । सो घट्नाको अनुसन्धान महाशाखा र जिल्ला प्रहरी भक्तपुरले संयुक्त रुपमा गरेका थिए । प्रहरीका अनुसार हेमन्तले मंगलबार राति पैसा दिन भनेर बालकोट जाने फलामे पुलनजिक बोलाएको र उनका साथी प्रेम विकसहित मिलेर हत्या गरेका हुन् ।

उनलाई कुटपीट गरिरहेको त्यहाँ स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीकै सहयोगमा श्रेष्ठलाई मंगलबार राती १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीका अनुसार हेमन्तले मंगलबार दुई लाख दिने शर्त थियो । त्यही शर्त अनुसार श्रेष्ठलाई पैसा लिन बोलाएर हत्या गरिएको हो ।

‘२५ लाख लिएका रहेछन् त्यसमा मंगलबार दुई लाख दिने शर्त रहेछ त्यही पैसा लिन जाँदा अर्को साथीसहित मिलेर हत्या गरेको देखिन्छ’, महाशाखाका प्रमुख एसएसपी खापुङले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.