पाँच वर्षमा सम्पन्न भएन गल्छी–मैलुङ सडक

डिसी नेपाल
२६ मंसिर २०७८ १७:३५

काठमाडौं।पाँच वर्ष पहिले निर्माण सुरु भएको गल्छी–मैलुङ सडक अझै सम्पन्न भइसकेको छैन ।

कूल ४६ किमी लम्बाइको सडकमा अहिलेसम्म ७० प्रतिशत प्रगति पुगेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । जग्गा प्राप्तिको विवाद, अदालती प्रक्रिया, रुख कटानमा लामो प्रक्रियाका कारण निर्माणमा लामो समय लागेको योजनाका सूचना अधिकारी सन्तराम पाण्डेयले बताए । उनका अनुसार कुनै खण्डमा थोरै काम बाँकी हुँदा रोकिएको छ भने कतै सुरु नै हुन सकेको छैन । उनले भने, “धेरै खालका अवरोधले गर्दा सरासर काम हुन पाइरहेको छैन ।”

आव २०७२/७३ मा सडक निर्माण सुरु भएकामा सो ठेक्का अझै पूरा नभएको हो । सो सडकको सुरु विन्दु (गल्छी) बाट ४६ किमी (मैलुङ) सम्म एउटै कम्पनी कोभ्यास/टुण्डी/रसुवा जेभीले निर्माण गरिरहेको छ । गल्छी–मैलुङ सडकमा अहिलेसम्म २१ किमी खण्डमा कालोपत्र सम्पन्न भइसकेको छ । नेपाल सरकारको लगानीमा १२ मिटर चौडा सडक निर्माण गरिरहेको सूचना अधिकारी पाण्डेयले बताए । दुई/दुई मिटर सोल्जरसहित ‘डेडिकेडेज डबल लेन’ सडक निर्माण अघि बढाइएको छ । यो खण्डमा धेरै ठाउँमा अहिलेसम्म पहिलो तहको कालोपत्र भइसकेको छ । दुई तहको कालोपत्रमा पहिलो तहमा छ सेन्टिमिटर र अर्का तहमा चार सेन्टिमिटर हुन्छ । अहिलेसम्म २७ किमी पहिलो तहको कालोपत्र भइसकेको छ । बेस र सबबेसको काम ३० किमीमा भइसकेको छ । उनले भने, “सडकमा नाली, पर्खाललगायको काम सकिएको छ ।”

सो सडकमा जग्गा प्राप्तिको समस्या धेरै भएकाले नै २०७२/७३ को ठेक्का अझै सम्पन्न हुन नसकेको योजनाले जनाएको छ । अझै पनि आठ किमीमा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारणले काम गर्न नसकिएको सूचना अधिकारी पाण्डेयले बताए । यो खण्ड नुवाकोट जिल्लाको पिपलटारदेखि ढुङ्गेसम्म पर्छ । निर्माण व्यवसायीले त्यो खण्डमा काम नै सुरु गर्न नसकेको उनले बताए । उनले भने, “मुद्दा परेको साढे दुई वर्ष भयो तर अझै फैसला आइसकेको छैन ।”

यसअघि ढुङ्गेबाट बेत्रावती खण्डमा पनि जग्गा विवादका कारण निर्माण रोकिएको थियो । जग्गाधनीले गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदा निर्माण रोकिएको थियो । एक वर्ष पहिलेबाट त्यसमा निर्माण जारी छ । रसुवा जिल्लामा पनि ५०० मिटर सडकमा अन्तिम आदेशका कारण निर्माण अघि बढ्न सकेको छैन ।

मैलुङ–स्याफ्रुबेसी खण्डमा भने आधा समय सकिँदासम्म भौतिक प्रगति २५ प्रतिशत छ । जम्मा १९ किमी लम्बाइको सडक निर्माणका लागि विसं २०७७ साउनमा ठेक्का सम्झौता भएको थियो । ३० महिना अवधि दिइएकामा अहिलेसम्म आधा समय सकिएको सूचना अधिकारी पाण्डेयले बताए । अहिलेसम्म १२ किमी सडकमा ग्राभेल भएकाले त्यसमा पर्खाललगायतको संरचनाको काम भइरहेको छ । उनले भने, “अरू सडक पूर्वाधार निर्माण र ग्राभेल भइरहे पनि अहिलेसम्म कालोपत्रे सुरु भइसकेको छैन ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *