नेपालमै पहिलो पटक ‘भिया फराता’ निर्माण

फुर्पा शेर्पा
४ पुष २०७८ ११:४५
1.4k
Shares

काठमाडौं। नेपालमा पहिलोचोटी साहसिक यात्राका लागि प्रयोग गरिने भिया फराता अर्थात् फलामको बाटो निर्माण गरिएको छ। राजधानी काठमाण्डौबाट सबैभन्दा नजिक रहेको जुगल हिमश्रृंखलामा रहेका विभिन्न उचाईका हिम चुचुराहरु आरोहण सहजताका लागि यो भिया फराता निर्माण गरिएको हो।

बिशेषत यूरोप अमेरिकामा यसलाई साहसिक खेलको रुपमा लिने गरिन्छ । विश्वयुद्धताका युद्ध लड्नका लागि एक गाउँबाट अर्काे गाउँमा गइ आक्रमण गर्नका लागि यो भिया फराता प्रयोग गर्ने गरिन्थ्यो ।

जुगल हिमश्रृंखलाका फरक फरक उचाईका ६ ओटा हिमचुचुराहरु आरोहणका लागि ४७ सय २० मिटर उचाईमा रहेको बेसक्याम्प ङ्याङखर्क जानुपर्छ र यही बेसक्याम्प जानका लागि यो भिया फरता निर्माण गरिएको हो। ८० मिटर लामो रहेको भिया फरता समुन्द्रि सतहबाट ४१ सय मिटर उचाईमा रहेको पहरमा निर्माण गरिएको छ।

यो भिया फरता निर्माणले जुगल हिमश्रृंखलामा रहेका बिभिन्न चुचुराहरु आरोहण गर्न निकै सहज हुने यो परियोजनाका समन्वयकर्ता तथा सिन्धु पर्यटन परिषद्का महासचिब मिलन तामाङले बताए। भिया फरता निर्माणले जुगल र सिन्धुपाल्चोक मात्र नभइ नेपालको समग्र पर्यटन क्षेत्रको विकासको लागि एक कोशे ढुंगा सावित हुने तामाङको दाबी रहेको छ।

अन्तर्राष्ट्रिय माउन्टेन गाइड तुलसिं गुरुङको नेतृत्वमा ७ जना माउन्टेन गाइडहरुले २५ दिन लगाएर यो परियोजना निर्माण सम्पन्न गरेका हुन्। परियोजनाका लागि पर्यटन विभागले आवश्यक रकम विनियोजन गरेको थियो।

नेपालमा हिमाल पर्यटनले ६ दशक पार गरेपनि राजधानीबाट नजिकै रहेको हिमचुचुराहरु अनक्लाइम्बिङको रुपमा रहेको हिमाललाई २०७५ चैत्र २६ गते नेपाली तथा स्थानीय हिमाल आरोहीहरुले प्रथम पटक यस श्रृंखलाका विभिन्न चुचुरहरुमध्ये ६ हजार एक सय ५१ मिटर उचाईको ग्याल्चेन पिकको सफल आरोहण गरेको थियो। आरोहणपछि यस क्षेत्रको पूर्वाधार निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकार निरन्तर लागिपरेको छ।

यसै क्षेत्रका निर्वाचित जनप्रतिनिधि हाल सभामुख अग्निप्रसाद सापकोटा यस क्षेत्रको पर्यटन विकासका लागि निरन्तर लागिपरेका छन् र यहि परियोजनामा बजेट विनियोजनका लागि सभामुख सापकोटाले बिशेष पहल गरेका थिए।

पूर्व मन्त्रीद्वय अरुण नेपाल, सरेश नेपाल र पालिका अध्यक्ष होमनारयण श्रेष्ठ लगायत सबै राजनीतिक दलका नेताहरु यस क्षेत्रको पर्यटन विकासका लागि निरन्तर लागिपरेका छन्, जुन निकै सकरात्मक पक्ष हो ।

नेपालमा पहिलोचोटी निर्माण गरिएको यो परियोजनाले पर्यटन विभागलाई थप उत्साहित बनाएको विभागका ईन्जिनियर सचिन्द्र यादवले बताएका छन् । खानी सेवा प्रा.लि.को ठेक्कामा रहेको परियोजनामा भिया फरतासँगै नेपेमासालबाट बुम्बाशेर्बुसम्म करिब ३ हजार सिंडी र माउन्टेन हटहरु समेत निर्माण कार्य जारी छ ।

भिया फरातामा हजार सिंढी छन्। आफ्नै गाउँठाउँमा रहेकोले यो हालको डिजाइनिङमा रहेकोभन्दा अझै राम्रो गर्ने प्रयास भइराखेकाले खानी सेवाबाट दोस्रो ठेक्का लिने प्रयास भइराखेको टेक्निक कन्सट्रक्शन प्रा.लि.का संचालनक महेश चौलागाईले बताए। यो परियोजना सम्पन्न गर्ने जिम्मा पाएकोमा निकै उत्साहित रहेको समेत चौलागाईले बताए।

२ सय मिटर ठाडो उकालो पहरमा निर्माण गरेको भिया फरता बिना सेफ्टि र बिना गाइड चढ्न मनाही गरिएको छ। यसमा चढ्नको लागि अनिवार्य २ ओटा सेफ्टि सिलिङ, हेलमेट, हार्नेस् र हातमा पञ्जा लगाएर मात्र चड्ने अनुमति दिएको छ।

अवस्था हेरेर केहि मिटरको दुरीमा एङ्कर राखिएको छ । एङ्करमा पुग्ने बितिकै २ ओटा क्यारिबिना मध्ये होशियारका साथ एउटा क्यारिबिना सार्ने र लक गर्ने र बल्ल अर्काे क्यारिबिना सार्ने लक गर्ने अनि अगाडी बढ्ने गर्नुपर्छ। क्लाईम्बिङ गर्दा साइडमा राखिएको सेफ्टी फलामको तारमा अनिवार्य समात्ने र राम्रोसँग रडमा टेक्नुपर्दछ।

रडको लम्बाई १५ ईन्च र चौडाइ १० ईन्च रहेको र ७ ईन्च ढुंगाभित्र छिराइएको छ। टेक्ने रड २० एमएम र २ सय मिटर लम्बाईको सेफ्टि तार ८ एमएमको रहेको छ । एङ्कर १० बोल्डको राखिएको छ।

काठमाण्डौबाट अरनीको राजमार्ग हुँदै बलेफी, जलबिरे, ढाँडे, कातिके गुम्बासम्म ५ घण्टाको गाडी सवारपछि ४ घण्टा पैदल यात्रामा पहिलो रात शेर्पा बस्ति तेम्बाथाङमा पुगिन्छ । दोस्रो दिन अन्तिम बस्ती दिप्पु गाउँ हुँदै छेन्दाङ, तोङश्युपबाट करिब ८ घण्टाको पैदल यात्राबाट नेपेमासाल पुगिन्छ।

तेस्रो दिन बुम्बाशेर्पु ग्यापखर्क हँुदै ३ घण्टाको पैदल यात्रापछि भिया फरतामा पुगिन्छ । करिब एक घण्टाको भिया फरताको चडाइपछि ३ घण्टाको हिडाइँपछि ४७ सय २० मिटर उचाईको बेसक्याम्पमा पुगन्छि ।

पहिलो रात तेम्बाथाङमा होमस्टेमा बास र दोस्रो दिन माउन्टेन हट अर्थात् हिमाली सामुदायिक भवनमा बास बसिन्छ । काठमाण्डौबाट एक हप्तामा हिमाल आरोहण गर्न सकिने एकमात्र गन्तव्य जुगल हिमश्रृंखला आन्तरिक तथा बाह्य पर्यटकका लागि पछिल्लो चरणमा आकर्षक गन्तव्यको रुपमा विकास हुँदै आएको छ ।

हिमाल आरोहण सँगै बौद्धमार्गीहरुले जानै पर्ने ठाउँ हो नेपेमासाल। भगवानको पनि स्वर्ग भनेर चिनिने नेपेमासाल अठौँ शताब्दीमा गुरु रिन्पोचेले त्यस क्षेत्रमा लामो समय बिताएको लामा पुस्तकहरुमा उल्लेख छ।

प्राकृतिक सुन्दरता र धार्मिक महत्व रहेको यस क्षेत्रलाई विकास र प्रवद्र्धन गर्न सकिएमा नेपालको पर्यटन उद्योगमा एक आकर्षक गन्तव्य हुनेमा कुनै दुईमत छैन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *