चाड पर्वले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वले सबै नेपालीमा आपसी सद्भाव सहिष्णुता र एकताको भावनालाई सवल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
येशु ख्रीष्टको जन्मदिन (ख्रीष्टमस) को अवसरमा राष्ट्रिय ख्रीष्टियन महासङ्घद्वारा आज राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विविधताबीच एकता र सद्भावको गौरवपूर्ण परम्परालाई हामीले अक्षुण राख्नुपर्नेमा जोड दिइन्।
उनले सांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुकको विविधता कमजोरी नभई शक्ति भएको र यही नै मुलुकको मौलिक राष्ट्रिय पहिचान भएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीले आफ्नो हातलाई आफूलाई मनलागे जति फैलाउन स्वतन्त्र छौँ, तर त्यसले अरुको नाकमा ठेस पुग्नुहुँदैन भन्ने कुरा पनि सबैले विचार गर्नुपर्दछ, यसले नै आपसमा सद्भाव र सहिष्णुतालाई कायम गर्दछ ।’
आआफ्ना फरक आस्था र विश्वास बोकेका भए पनि हामी सबै नेपाली भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले फरक आस्थाको कारणबाट देशप्रतिको माया र नागरिकको दायित्व बोधमा कुनै तलमाथि हुन नसक्ने बताइन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको माध्यमबाट यस समुदायले मुलुकको विकासमा गरेको योगदानप्रति धन्यवाद दिइन् ।







डिसी नेपाल








Facebook Comment