तराईमा चिसो बढेपछि अस्पतालमा बिरामी पनि बढे

डिसी नेपाल
२२ पुष २०७८ ८:००
76
Shares

बुटवल। तराईका जिल्लामा शितलहरसँगै चिसाे बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ। भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन्।

चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले बताए। चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

रुपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ। चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन्।

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीह चिसोका कारण बढेको लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाका अहेव भोजराज पोखरेलले बताए।

गौतमबुद्ध मुटु अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे ।

लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लगायतका अस्पतालमा पुस लागेसँगै रुघाखोकी, निमोनिया र टाईफाईडका बिरामी बढेका हुन् ।

‘चिसोबाट जोगिन हिटर अथवा आगो बालेर झ्यालढोका हावा नछिर्ने गरेर बन्द गर्छन् । यस्तो अवस्थामा निस्सासिएर ज्यान जाने सम्भावना हुन्छ,’ जाेशीले भने, ‘हिटर बाल्दा झ्याल खुला राख्नुपर्छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *