अन्टार्टिकाको सबैभन्दा अग्लो हिमाल चढ्ने पहिलो अरबी महिला बनिन् कतारकी राजकुमारी

फुर्पा शेर्पा
२८ पुष २०७८ १२:२७
688
Shares

काठमाडौं। कतारकी राजकुमारी शेखा आस्मा अल थानीले अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर) को सफल आरोहण गरेकी छन्।

थानी अन्टार्टिकाको सबैभन्दा अग्लो विन्सन हिमाल आरोहण गर्ने अरबको पहिलो महिला बनेकी छन्। थानीले यसअघि नेपालको अमा दब्लम हिमाल सफल आरोहणपछि विन्सन हिमाल आरोहण गरेकी हुन्।

अल थानीले गत मंगलबार अन्टार्टिकाको सबैभन्दा अग्लो हिमाल विन्सन हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी हुन्। यसअघि थानीले अक्टोबर २७ तारिख सोमबार बिहान साढे १० बजे बिना अक्सिजन मनास्लु हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी थिइन्।

उनी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित मनास्लु, धौलागिरि, अमा दब्लम र विन्सन हिमाल चढेकी हुन्।

थानीलाई यी हिमालहरु चढ्नमा नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जाले गाइड गरेका हुन्। थानीले अन्टार्टिकाको सबैभन्दा अग्लो हिमाल विन्सन हिमालमा पाइला टेकेकी टिमको गाइड कीर्तिमानी आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।

यसअघि उनले दक्षिण अमेरिकाको ६ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५ हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र युरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छन्।

सन् २०२१ को वसन्तमा सगरमाथा आरोहणमा आएकी उनी बेस क्याम्पसम्म पुगेकी थिइन तर खराब मौसमका कारण आरोहण जोखिमपूर्ण र असुरक्षित भएकोले अभियान रद्द भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.