राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्ने राप्रपाकाे निर्णय, तर बेनीकी उपमेयर मतदानका लागि पाेखरा पुगिन्

डिसी नेपाल
१२ माघ २०७८ ९:४०
128
Shares

पाेखरा। फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा पनि आज मतदान हुँदैछ। ३ सिटका लागि २० पुसमा नै मनोनयन दर्ता भइसकेको छ। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुँदैछ।

कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एकीकृत समाजवादी एकातिर छन् भने एमाले अर्कोतिर छ । गण्डकीमा राप्रपाले भने मतदान नगर्ने जनाएको छ। राप्रपाले प्रदेश १ बाहेकमा मतदान नगर्ने निर्णय गरेकाे थियाे।

यद्यपि राप्रपाभित्र मतभेद कायम छ। दुई उपमेयर जितेको राप्रपाबाट बागलुङका उपमेयरले मतदान नगर्ने भनेका छन् भने बेनीकी उपमेयर मतदानका लागि पोखरा आइसकेकी छिन्। यहाँ ६ जनाको मनोनयन दर्ता भएको छ।

गठबन्धनबाट ३ र एमालेका ३ उम्मेदवारले नाम दर्ता गराएका हुन्। गठबन्धनको तर्फबाट महिलामा कांग्रेस नेतृ कमला पन्त, दलितमा भुवन सुनार र खुलामा सुरेश आलेमगरले उम्मेदवारी दिएका छन्।

एमालेबाट खुलामा पुण्य पौडेल, महिलामा लिला थनेत र दलितमा अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएका छन्। दिउँसो ३ बजेसम्म मतदान हुनेछ। गण्डकीमा २ सय २९ मतदाता छन्। निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन्।

सांसदको मतभार ४८ छ भने पालिकाका जनप्रतिनिधिको १८ मतभार रहनेछ। जनप्रतिनिधि र सांसदको हिसाव गर्दा गठबन्धनभन्दा एमाले ७ सय ४ मतभारले पछाडि छ।
२७ सांसद रहेका एमालेको मतभार १ हजार २ सय ९६ हुन्छ। १५ सांसद रहेको कांग्रेससँग ७ सय २०, १२ जना सांसद रहेको माओवादी सँग ५ सय ७६ मतभार छ भने जनमोर्चा र जनता समाजवादीसँग ९६/९६ मतभार छ।

स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन्। उनीहरुको मतभार १ हजार ४ सय १८ हुन्छ। ६९ जना एमाले जनप्रतिनिधिको मतभार १ हजार २ सय ४२ छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादीको मतभार २ सय १६ छ । यहाँ जनमोर्चाको ३ जनप्रतिनिधि र राप्रपाका २ जनप्रतिनिधि छन्। मतभार हिसाव गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ।

समग्रमा एमाले एक्लैसँग २ हजार ५ सय ३८ मतभार छ। कांग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ मतभार छ। जनमोर्चासँग १ सय ५०, जनता समाजवादीसँग ९६ र राप्रपासँग ३६ मतभार छ। स्वतन्त्र सांसद राजिव गुरुङ गठबन्धन सरकारको मन्त्री छन्। उनले गठबन्धनमै मतदान गर्ने दावी गठबन्धनका नेताको छ। यद्यपी उनले आफ्नो धारणा राखेका छैनन्।

स्थानीय तह र प्रदेशसभाका सांसदहरु पार्टीबाट निर्वाचित हुने भएकोले फरक पर्ने खालको नतिजा खासै आउँदैन। गण्डकीमा माओवादीबाट निर्वाचित सांसद दिनानाथ शर्मा र खिमबहादुर विक तथा तत्कालीन एमाले (हाल एकीकृत समाजवादी) बाट निर्वाचित शान्तिकुमारी अधिकारीको अवधि सकिएको छ। सबै जनप्रतिनिधि र सांसदहरु मतदानका लागि पोखरा आइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.