नेपालमा अन्डाको मूल्यले रच्यो नयाँ रेकर्ड

डिसी नेपाल
१९ भदौ २०८३ १७:५४

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अन्डाको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार शुक्रबारदेखि लागू हुने गरी सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरिएको छ।

नयाँ मूल्य समायोजनसँगै अन्डाको फार्म मूल्य ऐतिहासिक उचाइमा पुगेको हो। उत्पादन लागतमा भएको भारी वृद्धि र बजारको माग तथा आपूर्तिलाई सन्तुलनमा राख्न मूल्य बढाउनुपरेको संघले जनाएको छ।

परिमार्जित दरअनुसार यसअघि गत भदौ ४ गते तोकिएको एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँबाट बढेर ६ सय ५ रुपैयाँ पुगेको छ।

त्यसैगरी ठूलो अन्डा प्रतिक्रेट ५ सय ७५ रुपैयाँबाट ५ सय ९० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५ सय ३५ रुपैयाँबाट बढेर ५ सय ५० रुपैयाँ कायम भएको छ। सानो अन्डाको हकमा भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत् राखिएको छ।

यो मूल्य संघले किसानका लागि तय गरेको फार्म मूल्य हो। उपभोक्ता तहमा पुग्दा ठूलो अन्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ तोकिएको छ भने मिडियम अन्डा दुई वटा खरिद गर्दा ४५ रुपैयाँ अर्थात् प्रतिगोटा साढे २२ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ।

संघका सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार मानेर यो मूल्य देशभरिका लागि लागू हुने गरी तय गरिएको हो। पछिल्लो समय कुखुराको दाना, औषधि तथा ढुवानी खर्चमा भएको निरन्तरको मूल्यवृद्धिका कारण किसानहरू चरम मर्कामा परेकाले मूल्य समायोजन गर्न बाध्य हुनुपरेको संघको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *