युक्रेनमा ६ नेपाली अलपत्र

डिसी नेपाल
२१ फागुन २०७८ १८:२८
200
Shares

इटाली । रुस र युक्रेनबीच १० दिनदेखि युद्ध जारी छ। दुई देशबीच युद्ध चलिरहँदा युक्रेनको लुहान्स्क शहरमा रहेका ६ जना नेपालीहरु अलपत्र परेका छन्।

धेरै नेपालीहरुले युक्रेन छोडेको भनिएपनि ६ जना अझै युक्रेनमै अलपत्र छन्। पढ्नका लागि युक्रेन पुगेका उनीहरु १० दिनदेखि लुहान्स्क शहरबाट बाहिर निस्कन सकेका छैनन्।

युक्रेनको लुहान्स्क शहर रुसको सिमानजिकै छ। उनीहरु बसेको शहर रुसको बोर्डर बाट करीब १ सय ५७ किलोमिटरको दुरीमा रहेको छ। युक्रेनको राजधानी किभ सहर उनीहरु बसेको ठाउँबाट करिब ८ सय ३० किलोमिटरको दुरीमा रहेको छ।

जर्मनको बर्लिनमा रहेको नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघहरुले पोल्याण्ड लगायत अन्य देशको सिमासम्म आउन भने पनि आफुहरु रुसको सिमा नजिक भएकोले सो ठाउँबाट निस्कन नसकेको नेपालीहरु बताउछन्।

‘यहाँ बाट निक्लन धेरै समस्या छ, ट्याक्सी चलेका छैनन्, ट्रेन स्टेसन सम्म पुग्न हामी सँग सवारी साधन छैन, ट्रेन स्टेशन नजिक पनि छैन, कुनै सवारीका साधन पनि चलेका छैनन,अनि हामी कसरी बोर्डर सम्म पुग्नु? यहाँबाट ट्रेन स्टेसन सम्म पुग्न करिब ३ घण्टाको बाटो छ तर स्टेशन सम्म पुग्न कुनै यातायातको साधन नै यहाँ पाँइदैन’ उनीहरुले भने।

‘दुतावास लगायत संघ संस्था जति पनि हाम्रो सम्पर्कमा आएका छन् सबैको एउटै भनाइ छ  ”सिमा सम्म आउनुहोस हामी रेस्क्यु गर्छौ”, तर सिमा सम्म पुग्न सक्ने हामीसँग  कुनै उपाय नै छैन, अब हामि कसरी यहाँ बाट निक्लन सकिन्छ र ?’ उनीहरुले भने।

‘हामी बंकर भित्र बस्दै आएका छौँ। बाहिर निक्लन सक्ने अवस्था छैन, नेपालमा रहेका परिवार पनि धरै तनावमा छन्। घरमा सम्पर्क गर्दा उनीहरु रुन्छन, घर परिवारमा सबैलाई तनाव भएको छ तर हामीले हाम्रा परिवारलाइ सम्झाउन सक्ने अवस्थामा हामी छैनौँ ।’ उनीहरुले भने, ‘अब त आश पनि मरिसक्यो, यहि मरिन्छ भन्ने सोच आउन थालिसकेको छ, कति बेला मारिने हो थाहा छैन। हामि पिडामा छौ तर हामी यहाँ बाट निस्कन सकेनौ।’

६ जना नेपालीहरु अहिले बंकर भित्र बस्दै आएका छन्। खानेकुरा पनि सकिन लागिसकेको उनीहरुले डिसी नेपाललार्इ बताए । नेपाल सरकार बर्लिनमा रहेको राजदुतावास, गैर आवासीय नेपाली संघ लगायत सबैले युक्रेनमा रहेका नेपालीलाई रेस्क्यु गरिरहेको बताईरहँदा बोर्डरसम्म आउन नसक्ने नेपालीहरुका लागि भने उनीहरु मौन छन्। अहिले सम्म रेस्क्यु गरिएका भनिएका नेपालीहरु आफै बोर्डर सम्म पुगेका नेपालीहरु हुन्।

६ जना नेपालीहरुको आग्रहमा यो समाचारमा उनीहरुको नाम राखिएको छैन। सबै ६ जनाको जानकारी डिसीनेपालसँग सुरक्षित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.