हराएका कलात्मक सम्पदा बेलायतद्वारा हस्तान्तरण

डिसी नेपाल
५ चैत २०७८ ९:५६
56
Shares

काठमाडाैं। संयुक्त अधिराज्यले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ। लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा सोह्रौँ शताब्दीमा काठमा कुँदिएको तोरन र अठारौँ शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको ढुङ्गाको मूर्ति समावेश छ। सन् १९८०–१९९० को दशकमा काठमाडौँको हनुमानढोका दरबारक्षेत्रको पूर्वपट्टि रहेको कुमारी बहालबाट तोरन हराएको थियो । घुँडा टेकेको भक्तको मूर्ति ओम बहाल नजिकैको मञ्जुश्री मन्दिरको भएको लण्डनस्थित दूतावासले जनाएको छ।

कार्यक्रमा राजदूत आचार्यले नेपालका हराएका कलाकृतिको पुनःप्राप्तिमा संलग्न महानगरीय प्रहरी र कला तथा पुरातात्विक वस्तु एकाइका सबै पदाधिकारीप्रति कृतज्ञता ज्ञापन गर्दै हराएको सांस्कृतिक सम्पदाको पुनःस्थापना र पुनःस्थापनाका लागि नेपालको राष्ट्रिय प्रयासमा महानगरीय प्रहरीको सक्रिय र विचारशील सहकार्यले सकारात्मक योगदान दिएको बताए।

गुप्तचर निरीक्षक रोचले महानगरीय प्रहरी कला तथा पुरातात्विक एकाइले यी दुई बहुमूल्य सम्पदा बरामद गर्नमा आफ्नो भूमिकामा गौरवान्वित भएको र नेपाल फर्काउन पाउँदा खुसी लागेको बताए। चोरी हुनुअघि स्थितिमा फोटो खिचिएका कारण तिनलाई पत्ता लगाउन र वास्तविक मालिकलाई हस्तान्तरण गर्न सहयोग पुगेको बताए। ती सामग्री नेपाल सरकारलाई पुरातत्व विभागमार्फत शीघ्र हस्तान्तरण गरिने पनि उक्त दूतावासले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *