तिलगङ्गाको वाग्मती नदी किनारबाट साढे तीन मेट्रिक टन फोहर व्यवस्थापन

डिसी नेपाल
५ चैत २०७८ १९:५०
92
Shares

काठमाडौं । पशुपति क्षेत्रको तिलगङ्गाको वाग्मती नदी किनारमा सफाइ गरी साढे तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४६२औँ हप्ता एवं तिलगङ्गा महिला समूहको ३६२औँ हप्ताको वाग्मती सफाइ अभियानका क्रममा त्यस क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सिना, काठमाडौं माहानगपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तन्डुकार, तिलगङ्गा महिला समूह, स्थानीयवासी, विभिन्न सङ्घसंस्था, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, वाग्मती फोहर उन्मूलन उपभोक्ता संस्था, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एवं वाग्मती अभियानकर्मीको सक्रिय सहभागिता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।

यसैगरी पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहर नउठ्दा पनि स्थानीय सरकार मौन बसेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.