सुदूरपश्चिम प्रदेशमा गठबन्धन नगर्ने कांग्रेसको तयारी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसले समर्थन दिँदै आएको छ । संघमा पाँच दलीय गठबन्धन बनेपछि सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसले सरकारलाई समर्थन दिँदै आएको छ । तर, सरकार सञ्चालन भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले मात्र गर्दै आएका छन् । १४ प्रदेशसभा सदस्य भएको समाजवादी र १३ प्रदेससभा सदस्य भएको माओवादीले सरकार सञ्चाल गरिरहँदा १२ सदस्य भएको नेपाली कांग्रेस भने सरकारमा अटाएको छैन ।
१ चैतमा धनगढी आएका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि सरकारमा लैजाने विषयमा सहमति भएको बताएका थिए । तर, त्यो व्यवहारमा लागु भएन । सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई लैजाने कुनै संकेत अहिलेसम्म देखिएको छैन । यही कारण अहिले कांग्रेस माओवादी र समाजवादीलाई गठबन्धन तोड्ने र चुनावमा तालमेल नगर्ने बताउँदै आएको छ ।
कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलाएर पटकपटक प्रदेशमा गठबन्धन नहुने बताउँदै आएका छन् । तर, प्रदेशस सरकारमा भाग दिएमा गठबन्धन हुन सक्ने उनको संकेत छ । सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा पनि बलाएरले अरुको पार्टी बनाई दिन कांग्रेस आफ्नो पार्टीमा विवाद बढाउन नचाहने बताएका थिए । उनले सुदूरपश्चिम प्रदेश सरकारमा दुई दल (माओवादी र समाजवादी)ले मनमानी गरेको भन्दै त्यसलाई कांग्रेसले टुलुटुलु हेरेर बस्न नसक्ने प्रतिक्रिया दिएका थिए ।
‘संघदेखि प्रदेशसम्म सरकार सञ्चालनमा तालमेल गर्ने अहिलेको नीति छ,’ बलाएरले भने, ‘तर, सुदूरपश्चिमको हकमा त्यसो भएको छैन, कांग्रेस प्रतिपक्षी जस्तो बनेको छ, अनि चुनावमा हामीले उनीहरुलाई किन सहयोग गर्ने ?’
उनले प्रदेश सरकारमा कांग्रेसको पनि सहभागिता हुनुपर्ने धारणासमेत राखेका छन् । ‘ सभापति बलाएरलाई सुदूरपश्चिममा कांग्रेसले भाग मागेको हो ? भनेर सोधेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘संघीय नेतृत्वको सहमतिअनुसार कांग्रेसले दुई प्रदेशमा नेतृत्व पाइसकेको छ । सुदूरपश्चिममा हामीले नेतृत्व मागेका छैनौं, तर सरकारमा हाम्रो सहभागिता पनि हुनु जरुरी छ, दुई दललाई मनमानी गर्न दिएर कांग्रेस त्यसलाई हेरेर बस्न सक्दैन ।’ तर, उनले सरकारमा भाग पाएमा भने आगामी निर्वाचनमा तालमेत गर्न सकिने संकेत गरेका छन् ।
प्रदेशका अन्य राजनीतिज्ञ भने माओवादी र समाजवादी पार्टीले कांग्रेसलाई सरकारमा लैजान नै नचाहेका टिप्पणी गर्छन् । ‘दुई दल मिल्दा सरकारलाई बहुमत छ,’ नेकपा एमाले प्रदेश संसदीय दलका नेता लिलाधर भट्टले भने, सरकारमा कांग्रेसको आवश्यकता नै छैन, उनीहरु कांग्रेसलाई सरकारमा लैजान नै चाहँदैनन् ।’
कांग्रेस प्रदेशस्तरका नेताले जे कुरा गरे पनि केन्द्रमा हुने सहमतिलाई बाध्यभएर मान्नु पर्ने बाध्यताका कारण कांग्रेसले प्रदेश सरकारमा समर्थन दिएको उनले बताए ।







डिसी नेपाल








Facebook Comment