श्रीलंकाले टाट पल्टिएको घोषणा गर्न लागेको हो ? ऋण तिर्न नसक्ने घोषणा गर्ने देशलाई के गरिन्छ ?

डिसी नेपाल
३० चैत २०७८ ११:४२
44.5k
Shares

काठमाडौं । श्रीलंकाले आफ्नो ७० वर्षको स्वतन्त्र इतिहासमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ र अब उसले अस्थायी रूपमा आफ्नो विदेशी ऋण नतिर्ने घोषणा गरेको छ। कोरोना महामारी र युक्रेन युद्धको प्रभावका कारण ऋणदाताहरुलाई ऋण तिर्न ‘असम्भव’ भएको अधिकारीहरुले बताएका छन् ।

यस दक्षिण एसियाली देशमा खाद्यान्नको अभाव, बढ्दो मुद्रास्फीति र विद्युत् अभावका कारण ठूलो मात्रामा प्रदर्शन भएका छन् । श्रीलंकाले अर्थव्यवस्थालाई ट्रयाकमा फर्काउन अर्को हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ऋण योजनाहरूबारे छलफल गर्न गइरहेको छ।

श्रीलंकाको विदेश मन्त्रालयले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै ऋण चुक्ता गर्ने आफ्नो “बेदाग रेकर्ड” रहेको बताएको छ। “हालसालैका घटनाहरूले श्रीलंकाको वित्तीय स्थितिलाई खराब बनाएको छ जसले बाह्य सार्वजनिक ऋण दायित्वहरू चुक्ता गर्न असम्भव बनाएको छ,” मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत महिनासम्म श्रीलंकाको ऋण दिगो नभएको आईएमएफले मूल्याङ्कन गरेको मन्त्रालयले स्वीकार गरेको छ । विज्ञप्तिमा भनिएको छ, “सरकारले आफ्ना सबै बाह्य र वर्तमान ऋणमा असाधारण कदम चालेको छ, तर यो अब दिगो नीति नरहेको स्पष्ट छ । यी जिम्मेवारीहरूको व्यापक पुनर्संरचना आवश्यक हुनेछ।”

ऋण नतिर्ने निर्णयलाई क्रेडिट रेटिङ एजेन्सीहरूले अझै पनि डिफल्ट मानेका छैनन्। यसको मतलब श्रीलंकालाई आधिकारिक रूपमा अझै डिफल्टर घोषणा गरिएको छैन। बीबीसीले एस एन्ड पी ग्लोबल रेटिङ एजेन्सीलाई यस बारे सोध्दा एजेन्सीले जवाफमा भनेको छ ‘यस स्तरमा अहिले केही भन्न सकिँदैन’।

जनवरीमा यो रेटिङ एजेन्सीले श्रीलंकाको रेटिङ घटाएर भनेको थियो ‘श्रीलंका आफ्नो वित्तीय प्रतिबद्धताहरू पूरा गर्न अनुकूल व्यापार, वित्तीय र आर्थिक अवस्थाहरूमा निर्भर छ जुन हाल धेरै कमजोर छ।’
मूडीज एण्ड फिच रेटिङ्ससँग पनि बीबीसीले यसबारे प्रतिक्रिया जान्न चाहेको थियो तर एजेन्सीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

एसिया सेक्युरिटीजकी लक्षिणी फर्नान्डोजले श्रीलंका सरकारको कदमको स्वागत गर्दै यो ‘कठिन डिफल्ट भन्दा राम्रो विकल्प’ भएको बताइन्। फर्नान्डोले भनिन्, “हामी यो घोषणा पछि ‘सेलेक्टिभ डिफल्ट’ वा ‘रिस्ट्रिक्टिड डिफल्ट’ को कारणले श्रीलंकाको हालको रेटिङ घट्ने अपेक्षा गर्छौं।

उनले अर्को हप्ता श्रीलंकाले ७ करोड ८० लाख अन्तर्राष्ट्रिय ऋणपत्र तिर्नुपर्ने कुरा पनि औंल्याइन्। श्रीलंकासँग मार्चको अन्त्यसम्म १ अर्ब ९३ करोड डलर विदेशी मुद्रा थियो भने यो वर्ष ४ अर्ब डलरको वैदेशिक ऋण तिर्न बाँकी छ ।

देशले भर्खरै केन्द्रीय बैंकको नयाँ प्रमुखको घोषणा गरेको छ र बढ्दो मूल्य र अत्यावश्यक वस्तुहरूको अभावको सामना गर्न मद्दत गर्न ब्याज दर झन्डै दोब्बर भएको छ।

श्रीलंकाले विदेशी ऋण तिर्न अस्वीकार गरेको छ । यसको मतलब उसले आफूलाई एक प्रकारको डिफल्टर घोषणा गरेको छ तर आधिकारिक डिफल्टर मान्न सकिँदैन।

ल्याटिन अमेरिकी देश अर्जेन्टिनाले सन् २००० देखि २०२० सम्म दुई पटक डिफल्ट गरेको छ । ग्रीस सन् २०१२ मा डिफल्टर बनेको थियो। सन् १९९८ मा रुस, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २००१ मा इक्वेडरले पनि डिफल्ट गरेका थिए ।

९ अक्टोबर २०११ मा अमेरिकी अर्थशास्त्री केनेथ रोगोफले अमेरिकी मिडिया संगठन एनपीआरको ‘अल थिंग्स कन्सिडर्ड’ कार्यक्रमका होस्ट रोबर्ट स्मिथलाई भनेका थिए ‘कुनै पनि देशको लागि डिफल्ट हुनु सामान्य हो।’ रोगोफले यस्तो सयौं पटक हुने बताएका थिए ।

रोगोफले भनेका थिए, “धेरै देश टाट पल्टिइसकेका हुन्छन् र उनीहरूलाई थाहा पनि हुँदैन। ती देशका इतिहासका पुस्तकहरूमा पनि यसको उल्लेख छैन। धेरै देशहरू कम्तिमा एक वा दुई पटक टाट पल्टिएका छन् । यस्तो किन हुन्छ भने ऋणदाताले त्यो देशसँग व्यापार बन्द गर्दैन। जुन देशमाथि ऋण बढ्दै जान्छ, त्यो देशले व्यक्तिले जस्तै व्यापार बन्द गर्दैन । उसले केही न केही तिरेर व्यापार जारी राख्छ।’

रोगोफले भनेका थिए, “एउटा देशसँग डिफल्टर हुने अवस्थाको सामना गर्ने धेरै तरिकाहरू छन्। अधिकांश देशका अर्थमन्त्रीहरूले उनीहरूसँग ऋण चुक्ता गर्न पैसा नभएको घोषणा गर्छन्। यस्तो अवस्थामा अर्थमन्त्री केही राम्रो गर्न सक्ने अवस्थामा हुँदैनन् । जब कुनै देश आफैंलाई डिफल्टर घोषणा गर्न बाध्य हुन्छ, त्यो ठूलो घटना हो। कहिलेकाहीँ यस्तो समय आउँछ कि त्यहाँबाट बाहिर निस्कने कुनै उपाय हुँदैन।’

वास्तवमा, रोगोफले डिफल्टर घोषित हुनु र यसो हुनबाट जिगिनुमा बीचमा धेरै मसिनो रेखा रहेको बताएका थिए । अर्जेन्टिनाले २००१ मा आफ्नो ऋण तिर्न अस्वीकार गर्यो। त्यतिमेला अर्जेन्टिनामाथि ठूलो ऋण थियो। बेरोजगारीका कारण जनता सडकमा उत्रिएर हिंस्रक आन्दोलन गर्न थाले । अर्जेन्टिनामा जे भयो, त्यो संसारभरका ऋणदाताहरूका लागि दुःस्वप्न जस्तै थियो र अहिले श्रीलंकाले पनि त्यही अवस्थाको सामना गरिरहेको छ ।

जवाहरलाल नेहरू विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक अरुण कुमारले बीबीसीको एक रिपोर्टमा टाट पल्टिनुको अर्थ बताएका थिए । उनले त्यसमा भनेका छन्, ‘टाट पल्टिनु भनेको तपाईको क्रेडिट रेटिङ लगातार खराब हुँदै गइरहनु हो । जस्तो अहिले श्रीलंकामा भइरहेको छ। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले त्यो देशप्रतिको विश्वास गुमाउँछन् र ऋणदाताहरूले ऋण चुक्ता गर्ने मिति बढाउन अस्वीकार गर्छन्। क्रेडिट रेटिङ खराब भएपछि ऋण दिन कोही तयार हुँदैनन् ।’

‘विदेशी ऋणको मात्राभन्दा कम विदेशी मुद्रा सञ्चिति हुनु टाट पल्टिनु होइन। भारतको विदेशी मुद्रा सञ्चिति अहिले विदेशी ऋणभन्दा बढी भए पनि सधैं यस्तो थिएन । भारतसँग अहिले जति विदेशी मुद्रा छ, त्यसबाट एक वर्षको आयात बिल भर्न सकिन्छ र यो राम्रो अवस्था हो । विश्वका सबै देशमा विदेशी ऋण छ । चाहे त्यो अमेरिका होस् वा चीन होस् वा जापान होस् । वास्तविक मुद्दा तपाईंको क्रेडिट रेटिङ कस्तो छ भन्ने हो ।’

प्राध्यापक अरुण कुमारका अनुसार डिफल्टर हुनु भनेको निर्धारित मितिमा ऋण नतिर्नु हो र यो टाट पल्टिने क्रमको सुरुवात हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *