यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु

डिसी नेपाल
१३ जेठ २०७९ १४:४७
296
Shares

काठमाडौं। नेपालको आयात प्रत्येक वर्ष बढ्दै गइरहेको छ। खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ। आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरीने गरेको छ। यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्– डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा भटमास तेल, फलाम, मोबाइल फोन, कच्चा पाम तेल, खोप, कोइला र सुन।

नेपालले पछिल्लो दश महिनामा यी दश वस्तु आयात गर्न ४ खर्ब ८८ अर्ब ७६ करोड ६२ लाख ९० हजार रुपैयाँ खर्चेको छ। अर्थात यो रकम दश महिनामा नेपालबाट बाहिरिएको छ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरेको छ।

सोही अवधिमा भारतबाटै नेपालमा ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोल भित्रिएको छ। भारतबाट नै ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आायत गरेको छ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । उक्त अवधिमा ४३ अर्ब ५५ करोड २ लाख ३७ हजार रुपैयाँको फलाम नेपाल भित्रिएको छ।

नेपालले पछिल्लो दश महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । मोबाइल फोन नेपालमा सबैभन्दा बढी चीनबाट आउने गरेको छ।

सोही समयमा नेपालले विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। विभागका अनुसार सो अवधिमा मानिसको लागि आवश्यक पर्ने खोप ३२ अर्ब ६ करोड २२ लाख ६८ हजार रुपैयाँको भित्रिएको छ।

बितेको दश महिनामा नेपालले ३१ अर्ब ८० करोड २२ लाख ५४ हजार रुपैयाको कोइला आयात गरेको छ। सोही समयमा युनाइटेड अरब इमिरेट्स र टर्कीबाट २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन नेपालमा आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.